नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा आज (सोमबार) पनि झडप भएको छ। विवादपछि आइतबार गोली चलेको थियो।
आइतबार गोली चलेपछि रोकिएको अधिवेशन सोमबार सुरु भएसँगै झडप भएको हो। झडपमा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन्। बलरा नगरपालिका–८ को वडा अधिवेशनको क्रममा झडप भएको हो।
झडपको क्रममा मतदान अधिकृत उमेशचन्द्र झासहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते भएका छन्। झा माथि आक्रमण भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपपछि अहिले अवस्था सामान्य रहेको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए।
आइतबार मात्रै यो वडामा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले हवाई फायर गरेका थिए।