सेयर बजारमा लगातार पहिरो जाँदा धेरै मूल्य घटेका यी हुन् एक दर्जन कम्पनी

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

सेयर बजार लगातार गिरावट आएको छ । आइतबार ८० अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से १०० बढी अंकले घटेको छ । आज सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८३ करोडले घटेर ४ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से २१.४८ अंकले घटेर २६३०.०१ विन्दुमा आइपुगेको छ । सोमबार २२८ कम्पनीको ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र म्युचुअल फण्ड बाहेक बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावर १५ करोड र आइसीएफसी फाइनान्स १२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज आइसीएफसी फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ । त्यसैगरी, चन्द्रागिरी हिल्स ५.२० प्रतिशत, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ प्रतिशत, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त, साधना लघुवित्त, साहस ऊर्जा, सिद्धार्थ इन्स्योरेन्स, सिभिल बैंक, साइन रेसुंगा विकास बैंक र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।