राजेन्द्रसँग भिड्न कमल थापाले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे, को-को अलमल्ल परे ?

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्को कार्यकालका लागी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १५ देखि १७ गतेसम्म हुने राप्रापको एकता महाधिवेशनका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि नै पूर्व महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। पञ्चायती पृष्ठभूमि भएको, हिन्दूराज्य र राजसंस्थाको पक्षमा लविङ गर्दै आएको राप्रपाको अध्यक्षमा अन्य संस्थापनक नेताहरुले पनि इच्छा देखाएका छन्। पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षको रुपमा उठ्ने आकाक्षा देखाएपनि उनीहरुले घोषणा गरेका छैनन्।

हालसम्म थापा र लिङदेनले मात्र उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै महामन्त्री र उपाध्यक्षमा धेरै आकाक्षी देखिएका छन्। हालसम्म धवल शमशेर राणा र भुवन पाठकले मात्र महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्। पटक-पटक फुट अनि एकीकरण हुँदै आएको राप्रपा पछिल्लो पटक पशुपति शमशेर र कमल थापाले २०६४को निर्वाचनमा हार ब्यहोरापछि एकता गरेका थिए।

यो महाधिवेशनले एकता र सद्भावको सन्देश दिनुपर्ने भन्दै थापाले राष्ट्रवादीहरुले यसलाई हेरिरहेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै बताए।
उनले हरेक महाधिवेशनपछि पार्टी विभाजन हुने तितो इतिहास अ‍ब नदोहोरियोस् भन्ने चाहेको बताए। उनले सवै महाधिवेशन प्रतिनिधिहरुलाई यसबाट फर्केर घर जादाँ राप्रपालाई कहिल्यै फुट्न नदिने शंकल्प गर्नुपर्ने बताए।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई साक्षी राख्दै थापाले पार्टीको एकता कायम राख्न लाग्ने बताए। चन्द राप्रपाका एकमात्र जिवित संस्थापक अध्यक्ष हुन्। थापाले आफूलाई पशुपति शमशेरको पनि सर्मथन रहेको दाबी गरे।

प्रकाशचन्द्र लोहनीसँग पनि आफूले भेटेर आएको भन्दै थापाले पार्टी एकताको पक्षमा अटल रहेको पाएको भन्दै सर्मथन रहेको दाबी गरे। उनले आगामी नेतृत्वको चयन सहमतिबाट गर्न योगदानको अपेक्षा गरेको बताए।