आत्मसम्मानलाई तामेलीमा राखेर मध्यरातमा ओलीका सामू यसरी लत्रिए सुवास, के भएछ खास ?

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेर आफू उपाध्यक्ष पदमा उठ्न तयार भएको नेकपा एमालेका उपाध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बताएका छन्। वरिष्ठ उपाध्यक्षको दावी गरेका नेम्वाङको नाम आइतबार राति अध्यक्ष ओलीले उपाध्यक्षमा प्रस्तुत गरेका थिए।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलाई प्रस्ताव गरेका ओलीले उनलाई उपाध्यक्षमा सीमित गराएका थिए। ‘अव यहाँवाट निस्केर निर्वाचनमा जानुपर्छ। अध्यक्षले राख्नु भएको प्रस्तावलाई हलले पास गरेपछि मैले उपाध्यक्षको म्यान्डेट पाएँ,’ उनले भने, ‘मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु।’

अहिले पार्टीमा केपी ओलीको विकल्प नरहेकाले सर्वसम्बत रुपमा उनको चयनलाई स्वीकार गरेको उनले बताए। ‘केन्द्रदेखि प्रदेशसम्मको हालको अवस्थालाई पार लगाउन केपी ओलीको नेतृत्व आवश्यक छ,’ उनले भने, ‘अहिलेको अवस्थामा ओलीको नेतृत्व अपहरिहार्य हो।’

एमालेको नेतृत्व चयन लोकतान्त्रिक भएको दाबी गर्दै उनले हिजो अध्यक्षले प्रस्ताव गरेको नाममा हलले ताली बजाएको बताए। सबैको सहमतिमै हलमा नाम प्रस्तुत गरिएको उनले बताए। ‘अध्यक्षले प्रस्ताव गरेको नाममा केही साथीहरु असहमत हुनुभयो अहिले उम्मेदवारी दिनु भएको छ,’ उनले भने ‘यही हो सुन्दर लोकतन्त्र। यो अरु पार्टीमा छैन एमालेमा छ।’

वरिष्ठ उपाध्याक्षमा दाबी थियो तर उपाध्यक्षमा सिमित हुनु भयो, अध्यक्षसँग के कुरा भयो? भन्ने प्रश्नको उत्तरमा उनले पार्टीभित्रका विवाद र समस्या सडकमा छर्ने नभई कमिटीमा राख्नुपर्ने बताए। ‘पार्टीको नेता अध्यक्ष हो आफूलाई लागेको कुरा अध्यक्षलाई भन्ने हो,’ उनले भने, ‘अध्यक्षलाई नभनी पार्टीमा नभनी सडकमा भन्न हुँदैन।’ राष्ट्रपति पदको कुरा भएको हो भन्ने प्रश्नमा उनले वार्गेनिङको कुरा अरुलाई छोडेको दावी गरे। ‘सुवास नेम्वागलाई वार्गेनिङमा विश्वास छैन,’ उनले भने, ‘मैले पार्टीवाट अवकाश हुन्छु भनेको छु। त्यसैले अहिले पनि मैले दावी गरेको हैन सवैले वरिष्ठ उपाध्यक्षमा उठ भनेका हुन्। अहिले उपाध्यक्ष दिने सहमति भयो यो नै पार्टीको म्यान्डेट हो।’

केपी ओलीलाई सर्वसम्वत रुपमा नेतृत्वमा स्वीकार गरेर जानुपर्छ भनेर आफू उपाध्यक्षकै लागि तयार भएको उनले बताए। ‘मलाई पार्टीले आदेश दियो। हलले थपडी बजाएर उपाध्यक्षमा उठ्न भनेपछि म उठेको हुँ,’ उनले भने, ‘यही कुरालाई ध्यानमा राखेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु।’