नेकपा एमालेको नयाँ महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेल नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित पोखरेल छलाङ मार्दै महासचिव बनेका हुन्।
महासचिवमा उनका प्रतिस्पर्धी थिए लुम्बिनी प्रदेशकै विष्णु पौडेल। उनीहरुबीच लुम्बिनी प्रदेशको राजनीतिमा पनि कडा टक्कर छ। अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै जनाबीच लुम्बिनीको राजधानीलाई लिएर टकराव चलेको थियो। पौडेलले २०७४ सालको आमनिर्वाचनमा बुटवलमै स्थायी राजधानी राख्ने बाचा गरेका थिए।
तर केन्द्रको राजनीतिबाट प्रदेशमा धकेलिएका पोखरेल लुम्बिनीको मुख्यमन्त्री बने। उनी मुख्य मन्त्री बनेपछि लुम्बिनीको राजधानीलाई लिएर लामो समय विवाद चल्यो। तर नेकपा एक भएको अवस्थामा पोखरेलले आफ्नो राजनीतिक शक्तिको फाइदा उठाउँदै लुम्बिनीको स्थायी राजधानी आफ्नै जिल्लामा लगे।
पौडेलसँगको यो प्रतिस्पर्धामा पोखरेल राजनीतिक बाजी मारे। अहिले दाङको देउखुरी क्षेत्रमा प्रदेशको स्थायी राजधानीका लागि संरचना तयार हुँदैछ। एकै भूगोलका यी दुईको प्रतिस्पर्धा दसौँ महाधिवेशनमा पनि देखिँदा पोखरेल अगाडि देखिए। ओलीले पौडेललाई मनाएर महासचिवमा पोखरेललाई अघि बढाए।
यस्तोमा पोखरेललाई महासचिव बनाउन पौडेलले नै प्रस्ताव गरेका छन्। पोखरेलले महासचिवमा मनोनयन दर्ता गराउने क्रममा पौडेलले प्रस्तावकका रुपमा हस्ताक्षर गरे भने सुवास नेम्वाङले समर्थन गरेका छन्। नेम्वाङ यो पटक वरिष्ठ उपाध्यक्षको दौडमा थिए। तर उपाध्यक्षमा बस्ने भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन्।