चार भाईलाई चार सुरमा राखेर ओली जुटाउँदैछन् अन्तिम सहमति, बिष्णुले बोके सहमतिको प्रति

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट चार नेतासँग लामो छलफल गरेका छन्। वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल र सुवास नेम्वाङसँगको बैठकपछि अध्यक्ष ओली अहिले पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ
र प्रदीप ज्ञवालीसँग सम्भावित पदाधिकारी र केन्द्री कमिटीको सूची तयार गरिरहेका छन्।

पार्क सफारी रिसोर्टको कोठा नम्बर ४०१ मा बसेर ओलीले आफूनिकट नेताहरुसहित केन्द्रीय कमिटीको सूची तयार गरेका हुन्। उक्त कोठामा अब पदाधिकारीको सूची तयार गरिँदैछ। दसौँ महाधिवेशनबाट चुनिने केन्द्रीय कमिटीको सूचीलाई अन्तिम रुप दिएर मात्रै ओली बन्द सत्रमा जाने भएका छन्।

उक्त सूचीलाई छलफलमा रहेका उपमहासचिव विष्णु पौडेलले पार्क सफारीमै प्रिन्ट गरेर लगेका छन्। तर उनले त्यो सूचीबारे विस्तृत खुलाउन चाहेनन्। पत्रकारहरुसँग कुराकानीका क्रममा उनले सबै राम्रो भइरहेको प्रतिक्रिया दिएका छन्।

‘सबै राम्रो भइरहेको छ, राम्रो हुन्छ, राम्रो हुँदैछ’, पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले भने।

पत्रकारहरुले उनलाई तपाईंको अनुहार त हँसिलो देखियो कुरा मिलेको हो ? भनेर सोधेका थिए। त्यसको उत्तरमा उनले भने, ‘मेरो अनुहार हँसिलो नभएको कहिले देख्नु भएको छ?

उनी त्यहाँ पत्रकारहरुसँग सवाल जवाफपछि सम्भावित केन्द्रीय कमिटी सदस्यहरुको सूची प्रिन्ट गरेर फेरि ओलीसँग छलफलका लागि पार्क सफारीको दोस्रो तलामा उक्लिएका छन्। ओलीले सम्भावित पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरुको सूची फाइनल गरेर मात्रै बन्द सत्रमा जाने तयारी गरेका छन्। आफूले तयार गरेको सूची उनले बन्द सत्रमा लगेर पारित गराउने योजना बनाएका छन्।

तर उता उपाध्यक्ष भीम रावल भने अध्यक्ष पदका लागि भोट मागिरहेका छन्। उनले कुनै हालतमा पछि नहट्ने भन्दै सेभेनस्टार होटलस्थित बन्दसत्र हलमै पुगेर पनि भोट मागेका छन्। ओलिलॆ अन्तिममा केही नाममा चाँही टिपेक्स लगाउन सक्ने बुझिएको छ।