कांग्रेसले फेर्यो केन्द्रीय निर्वाचन समितिको संयोजक, यादवले राजीनामा दिएपछि घिमिरे नियुक्त

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मुखमा केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ।

यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको छ। यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन्।

साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ। उनी निर्वाचन समितिका सदस्य थिए। उनी वरिष्ठ अधिवक्ता पनि हुन्।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएका थिए। तर कांग्रेसले जारी गरेको सूचनामा भने स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको उल्लेख छ।

डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटले वडादेखि जिल्ला अधिवेशनमा भाग लिएका छैनन्। फेरि अधिवेशन हुनुपर्ने माग उनीहरूको छ। यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायत पार्टी कार्यालयमा रिले अनशनमा बसेका छन्।