ओली र पोखरेलको संयुक्त कप्तानीमा एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा हुँदै, क-कसलाई पर्यो आपत् ?
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल एमालेको नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको सूची तयार पार्न जुटेका छन् । बन्दसत्र भइरहेको होटलमा अध्यक्ष अोली र महासचिव पोखरेलबीच पदाधिकारीको नाम टुंगो लगाउन अहिले छलफल भइरहेको हो।
शनिबारको बन्दसत्रले एमालेको नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो । तर उपाध्यक्ष भीम रावल लगायका केही नेताहरूले त्यसमा आपत्ति जनाएका थिए । सहमतिमै नयाँ नेतृत्य चयन गर्न अध्यक्ष ओलीले नाम सुनाउने र सहभागी प्रतिनिधिले ताली पड्काउने गरी तयारी भइरहेको छ । तर उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरूले लोकतान्त्रिक अभ्यास हुनुपर्ने बताइरहेका छन् ।
श्राेतकाअनुसार अध्यक्ष ओलीले ईश्वर पाेखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पाेखरेललाई महासचिव बनाउने तयारी गरेका छन् । तर वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिचमा विष्णु पाैडेलले दाबी छाडेका छैनन् । अरु पदमा लगभग सहमति जुटेकाे बताइए पनि वरिष्ठ उपाध्यक्ष र महासचिव पद टुंगाे लगाउन ओलीलाई सकस परेकाे छ ।
वरिष्ठ उपाध्यक्षमा त्याग देखाएर राष्ट्रपति बन्न भन्दै ओलीले गरेकाे आग्रह नेम्वाङले नकारिसकेका छन् । यसाे हुँदा यी दुई पदमा आकांक्षा राखेका नेताहरूकाे व्यवस्थापन ओलीले कसरी गर्नेछन् चासाेकाे विषय बनेकाे छ । अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्ष नेताहरूबीच अनौपचारिक पहल भइरहेकाे बताइएकाे छ ।
महाधिवेशनकाे बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ । बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरूको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हाे ।
तर उपाध्यक्ष रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए । एमालेकाे पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् ।