एमालेमा सहमति नहुने निश्चित भएपछी मतदानका लागि धमाधम बुथ तयार गरिन थाल्यो

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेकपा (एमाले)को चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्ने भरमग्दुर प्रयत्न भए पनि सहमतिको संकेत देखिन सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा सर्वसम्मत नेतृत्व (पदाधिकारी र केन्द्रीय कमिटी) चयन गर्न शुक्रबार र शनिबार अपराह्नसम्म भरमग्दुर प्रयत्न गरेका थिए।

शुक्रबार साँझ बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै त्यससम्बन्धी व्यवस्थाका लागि विधान संशोधन प्रस्ताव बन्दसत्रमा लैजाने निर्णय गरेको थियो। तर, शनिबार अपराह्नसम्मका प्रयत्न सफल नभएपछि ओली बन्दसत्रस्थल पुगेका थिए। अहिले चितवनको सौराहमा एमालेको बन्दसत्र जारी छ।

बन्दसत्र जारी रहेकै बेला बरु पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यका आकांक्षी नेतामात्र होइन, प्रतिनिधिहरु पनि चुनावी तयारीतर्फ जुटेका छन्। ओलीले भित्र हलमा बन्दसत्रलाई सम्बोधन गरिरहेका छन्। सम्बोधनमा सहमतिका लागि पनि जोड दिइरहेका छन्। तर, बाहिर भने विभिन्न पदका आकांक्षी नेताहरु उम्मेदवारी घोषणा गरेर भोट माग्न केन्द्रित छन्।

नेताहरुले भोट माग्न थालेपछि महाधिवेशन प्रतिनिधिहरुले पनि डिजिटल मतदानको अभ्यास गरिरहेका छन्। एमालेले यो महाधिवेशनमा चुनावी प्रतिस्पर्धा हुने भएमा विद्युतीय मतदान गर्ने निर्णय गरेको छ। त्यसका लागि मतदान गर्ने बुथसमेत तयार भइसकेका छन्।