ललितपुर कांग्रेसमा देउवा खेमाकै तीन भाईको भिडन्त, देउवाको आशिर्वाद कसलाई ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्ला सभापति पदमा तीन जना नेताबीच चुनावी भिडन्त भइरहेकाे छ । यहाँ अन्य जिल्लाको भन्दा रोचक दृश्‍य देखिएको छ । तीनै जना देउवापक्षका नेता सभापतिमा भिडेपछि इतर समूहले कसलाई सहयोग गर्छ भन्ने विषयलाई चासाेका साथ हेरिएकाे छ ।

सभापति पदमा जितेन्द्रकुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारले उम्मेदवारी दिएका छन् । तीनै जना केन्द्रमा सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

जिल्ला भित्रको देउवा समूहकाे उपगुटहरूबाट छुट्टा-छुट्टै उम्मेदवारी परेकाे हाे । हालका जिल्ला सभापति मदन अमात्य र नेता उदयशमशेर राणाबीच इगोको लडाइ भएको बताइन्छ ।

सभापतिका उम्मेदवार जितेन्द्र श्रेष्ठलाई नेता राणाले सहयोग गरेका छन् । अर्का उम्मेदवार महर्जन पनि राणा निकट मानिन्छन् । तर सल्लाह नगरी श्रेष्ठलाई उम्मेदवार बनाएको भन्दै महर्जन असन्तुष्ट भइ उम्मेदवारी दिएको बताइएको छ ।

अर्का उम्मेदवार चित्रकारलाई जिल्ला सभापति अमात्यको साथ छ । पौडेल पक्षले कसलाई सहयोग गर्ने भन्ने विषय काैतुहलतामै रहेकाे नेताहरू बताउँछन् । बिहान ८ बजेदेखि यहाँ मतदान भइरहेकाे छ ।