देउवाले पार्टी धुजा-धुजा पारेको भन्दै रन्किएका प्रकाशमान कांग्रेस सुधार्न यसरी भए सक्रिए

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताए ।

कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताए । ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट उचित नेतृत्व आवश्यक छ’, उनले भने ।

नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए ।

‘केन्द्रको नेतृत्व यदी हामीले परिवर्तन गर्न सकेनौँ भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टीलाई आउँदा दिनमा झनै गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ’, उनले भने ।

कांग्रेस काठमाडौं जिल्ला समितिमा नेताहरू गगन थापा र प्रकाशमान सिंहकाे समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरू राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरू गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा लगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको हाे ।