अझै सुरु भएन एमालेको बन्द सत्र, के मा पर्यो लफडा ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । सौराहाको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको हो ।

अध्यक्ष केपी ओलीसहितका नेताहरू आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको भए पनि कलस्टर मिलाउन बाँकी रहेकोले बन्दसत्र सुरु गर्न केही ढिला भएको उनले बताए । बन्दसत्र सुरु भएपछि आजै नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनेछ ।

एमालेमा यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । त्यसकैलागि हिजोको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै ओली समर्थक महाधिवेशन प्रतिनिधिहरूले बन्दसत्र हुने हाेटलबाहिर नाराबाजी गरेका छन् । तर उपाध्यक्ष भीम रावलले भने एक मत पाए पनि अध्यक्षकाे प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।