यी चार भाईले घेरेपछि ओलीलाई उम्कने भयो गाह्रो, मनाउन कसलाई हाल्दैछन् कस्तो चारो ?

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपेर भएपनि दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयासले सफलता पाउन सकेको छैन। शुक्रबार राति केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धि, पोलिटब्युरो ब्युँताउने निर्णय गरेको भएपनि सहमति जुटाउन भने ‘सकस’ देखिएको हो।

एमालेको पदाधिकारीमध्ये महत्त्वपूर्ण महासचिवमा अध्यक्ष ओली निकटका शंकर पोखरेल, विष्णु पौडेलले दाबी नछाडेपछि समस्या देखिएको छ। अर्का नेता सुरेन्द्र पाण्डेले पनि महासचिवमा दाबेदारी प्रस्तुत गरिरहेका छन्।

पदाधिकारीको संख्या थपिए पनि महासचिव एक जनामात्र हुने भएपछि ओली निकटका दुई नेताको व्यवस्थापन जटिल बनेको हो।

सहमतिको प्रयासस्वरुप शनिबार अध्यक्ष ओलीले महासचिवका आकांक्षी पोखरेल र पौडेलसँग छलफल गरेपनि दुवैजना आ-आफ्नो अडानबाट पछि नहटेपछि सर्वसम्मत नेतृत्व चयन पेचिलो बनेको छ। पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेताहरुले प्रयास जारी राखेका कारण विहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र प्रभावित बनेको छ।

महासचिवमा दाबी गरेका तीन मध्ये दुईलाई उपाध्यक्षमा व्यवस्थापन गरेर एकलाई महासचिव बनाउने ओलीको योजना भएपनि नेताहरु ‘ब्याक’ नुहँदा समस्या देखिएको छ।

अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनीनिकटस्थ नेताहरुले महासचिवको जिम्मेवारी पोखरेललाई दिन तीव्र दबाब दिइरहेको बुझिएको छ। तर, तत्कालीन नेकपा हुँदा महासचिव चलाएका पौडेल र माधव नेपालको साथ छाडेका र यसअघिको महाधिवेशनमा पनि महासचिवमा कम मतले मात्र पराजित पाण्डेले दाबी नछाड्दा ओली समस्यामा परेका छन्।

महासचिवमा मात्र होइन वरिष्ठ उपाध्यक्षमा समेत दुई जना आकांक्षीले अडान नछाडेपछि पदाधिकारी सर्वसम्मत गराउने ओलीको तयारी सकसपूर्ण बनेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन्।

ओली निकटका दुबै नेता दाबेदारीबाट पछि नहटेपछि ओली समस्यामा परेका हुन्। शनिबार आफू बसेको होटलमा ओलीले पोखरेल र नेम्वाङसँग छलफल गरेपनि टुंगो लाग्न नसकेको स्रोतको भनाइ छ।

नेम्वाङलाई सकेसम्म बाहिर व्यवस्थापन गर्नेगरी मनाउने कोशिस ओलीले गरेका जनाइएको छ। उनलाई एमालेले भविष्यमा प्राप्त गर्नसक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्नेगरी मनाउने प्रयास ओलीले गरेको भएपनि उनी त्यसमा राजी भएका छैनन्। उता, अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावललाई व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीलाई छ।

आफू निकटका नेताहरुबीच सहमति जुटाएपछि ओलीले रावलसँग छलफल गर्ने भनिएको भएपनि भेटबारे टुंगो लागेको छैन। त्यस्तै घनश्याम भुसालको विषयमा पनि सहज बाटो खोजि भइनसकेको बताइएको छ। अध्यक्ष ओली भने कम्तिमा पनि पदाधिकारीमा सहमति गरेरमात्र बन्दसत्र सुरु गर्ने पक्षमा छन्।

‘कम्तिमा पनि पदाधिकारीमा सहमति जुटाएरमात्र बन्दसत्रको हलमा प्रवेश गर्ने उहाँको योजना छ’ ओली निकट एक नेताले भने, ‘त्यति गर्न सकिएको खण्डमा एकताको सन्देश जान्छ। बाँकी मिल्छ भन्ने उहाँको सोच हो।’ महासचिव र वरिष्ठ उपाध्यक्षमा कुरा मिले पदाधिकारीका अन्य पदमा समस्या नहुने बुझाइ ओलीको रहेको उनी बताउँछन्।