सगरमाथाको काखमा बसेर मधेशका अशोकले जुरुक्कै उचाले कांग्रेस, बिपीको सपना पारे साकार

  • प्रकाशित मिति : २०७८ मंसिर ११, शनिबार
  • chhanbin.com

नेपाली काँग्रेसको मसिहा भनेर आफुलाई चिनाउने र सधै चर्चाको केन्द्रमा रहने धेरै कांग्रेसी महाधिवेशन प्रतिनिधीमा बढारिएका बेला सोलुखुम्बु बाट लोभलाग्दो मत सहित महाधिवेशन प्रतिनिधीमा निर्वाचितअशोक झा यतिबेला चर्चाको चरमचुलीमा छन्। नहुन् पनि कसरी, मधेशका उम्दा अशोकले सगरमाथाको काखमा बसेर कांग्रेसलाई गोडमेल मात्र गरेनन् फस्टाउँन दिलो ज्यान दिएरै लागे। गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित हुँदा कांग्रेसको राजनितीको भुँईमै संघर्ष गरिरहेका उनले हिमाली जिल्ला सोलुखुम्बुमा मधेश पुर्याए।

हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एक्लो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अशोकका बुवा शिक्षक पेसाका कारण सोलुखुम्बु पुगेका थिए । अहिले पनि अशोकको घर सोलुखुम्बु र सप्तरीमा दुबै ठाउँमा छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुमा अशोकका बुवा दुई कार्यकाल अध्यक्ष भएका थिए । यता अशोक पनि काँग्रेस राजनीतिमा लागे । १५ वर्षअघि काँग्रेसको क्रियाशील सदस्य भएका उनी १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएका थिए ।

सोलुखुम्बु जिल्लामै एक मात्र झा परिवार भएपनि काँग्रेस राजनीतिमा अशोकलाई पछाडि फर्किनु परेन । नेपाल तरुण दल सोलुखुम्बुको क्षेत्रीय सदस्यबाट उनी जिल्ला उपाध्यक्ष हुँदै जिल्ला सभापतिसम्म हुन सफल भए । उनी अहिले पनि तरुण दल सोलुखुम्बुका अध्यक्ष छन् । हिमाली जिल्लाबाट आफूले पाएको अवसर र उपलब्धिबाट अशोक खुसी छन् ।

०१५ सालको संसदीय निर्वाचनमा सप्तरीको पश्चिमी क्षेत्र (हालको सिरहा) बाट नेपाली काँग्रेसको माधवबाबु रेग्मी उम्मेदवार बनेको थियो । त्यसबेला काँग्रेसका संस्थापक बिपी कोइरालाले ‘मधेसबाट पहाडी र पहाडबाट मधेसीले चुनाव जितेको दिन नेपालमा प्रजातन्त्र बलियो हुने’ अभिव्यक्ति दिएका थिए । नभन्दै उनले प्रजातान्त्रिक समाजवादका पिताको रहर पुरा मात्र गरेनन्, बिपीको सपनालाई सगरमाथा झैँ अग्लो बनाउन सफल भए।

अशोक आफैमा बीपीको प्रजातान्त्रिक समाजवादका कुशल व्याख्याता हुन्। उनका चालचलन र उनको राजनीतिको रेसामा बिपी भेटिन्छ। मधेश,पहाड र हिमाललाई एकताको बिन्दुमा जोड्ने कुसल कला पनि उनमा छ। समावेशीताको चरम नमुना आफैमा लागु गर्ने उमेश नेपाली काँग्रेसमा सम्भावना बोकेका गहकिलो युवा नेता हुन्।