आउँदो चुनावमा एमालेले बहुमत ल्याएर विकासको अभिभारा पूरा गर्ने ओलीले गरे दाबी

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत प्राप्त गरेर फेरि सरकार बनाउने दाबी गरेका छन्।

‘अलि गोपनियता खोल्नै पर्नेभयो,’ पार्टीको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा मञ्चमा आसिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ओलीले भने, ‘आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गरेर देश विकासको अभिभारा पूरा गर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न चाहे पनि काम गर्न अप्ठ्यारा रहेको उनले बताए। ‘प्रधानमन्त्रीज्यूले काम गर्न सक्नु हुन्थ्यो होला। तर, हिजो मेरो खुट्टा तान्नेहरू अहिले उहाँको खुट्टा तान्न पुगेका छन्,’ ओलीले भने।

ओलीले हिउँदभरी पार्टी प्रवेश कार्यक्रम चल्ने उल्लेख गरे। उनले आवश्यक्ताअनुसार औचित्यको आधारमा संविधान हुनसक्ने बताएका छन्।

ओलीले नेपालमा समूहगत हिंसा अन्त्य भइसकेको दाबी गरे।
‘नेपालमा कुनै पृथकतावाद छैन, देशमा लगानीको वातावरण छ,’ उनले भने,‘विदेशी लगानी गर्न पनि उचित वातावरण छ। लगानी गर्न मेरो आग्रह छ।’

लोकतन्त्रअन्तर्गत संरचनाहरू तयार भइसकेको अवस्थामा समृद्ध नेपाल सुखी नेपाली बनाउनु आजको आवश्यक्ता रहेको उनले बताए।
ओलीले उत्तरतिरबाट पारवहन र यातायात सन्धि गरेर नेपाललाई एउटा देशको निर्भरताबाट आफ्नो सरकारले अलग बनाउन सफल भएको दाबी गरे। अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी जनाइसकेको उनले बताए। ‘समुद्रमा पनि नेपालको हक छ, अन्तरिक्षमा पनि नेपालले दाबी जनाइसकेको छ,’ उनले भने,‘जलमार्गका लागि भारतसँग कुराकानी भइरहेको छ।’