देउवाकै सामुन्ने बादलले सत्तारूढ गठबन्धनको किन गरे सत्तोसराप ? लगाए यस्ता अनेक आरोप

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री शेरबहादुर देउवाकै अघि गठबन्धनलाई विभिन्न आरोप लगाएका छन्। चितवनको नारायणी किनारमा भइरहेको एमालेको दसौँ महाधिवेशन उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवाकै अघि नेपाली कांग्रेससहितको ५ दलीय लगठबन्धनलाई विभिन्न आरोप लगाएका हुन्।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका रामबहादुर थापा बादलले वर्तमान अवस्थामा देशको राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गरेका थिए। उनले सत्तारुढ गठबन्धनलाई अन्धराष्ट्रवादी भएको आरोप लगाए। यद्यपि उनले गठबन्धनको नाम भने लिएनन्।

आफूहरूको पक्षमा अग्रगमन र समाजवादी शक्ति भएको उनको दाबी थियो। ‘आज मुलुकको राजनीति दुई ध्रुवमा विभाजित छ। एकातिर अग्रगमन र समाजवादका पक्षधरहरू रहेका छन् भने अर्कोतिर पश्चगमन र दलाल पुँजीवादका दाबेदारहरू। एकातिर देशभक्त र वामपन्थीहरू, अर्कोतिर अन्धराष्ट्रवादी र राष्ट्रिय आत्मसमर्पणवादी र दक्षिणपन्थी शक्तिहरू,’ सम्बोधनमा उनले भने।

देशी-विदेशीले तत्कालीन नेकपालाई तीन टुक्रा पारेको समेत उनको भनाइ थियो। नेकपालाई तीन टुक्रा पारे पनि एमाले एकताबद्ध रहेको दाबा गरेका छन्। महाधिवेशनमा स्वागत मन्तव्य राख्दै उनले विधान महाधिवेशनले एमाले एकताबद्ध र ठूलो पार्टी भएको सन्देश दिएको दाबी गरेका छन्।

जनमतको सरकारलाई विस्थापन गरेर परमादेशको सरकार बनेको उनले बताए। उनले अहिले राष्ट्रियता र लोकतन्त्र जोखिममा परेको बताए।
एमाले महाधिवेशनमा शुभकामना व्यक्त गर्न हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा चितवन पुगेका थिए।