सवा ४ खर्ब घरजग्गामा बैंकले गरे लगानी, कुनको कति छ घरजग्गामा लगानी ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

बेलाबेलामा अर्थमन्त्री र गभर्नरले समेत अनुत्पादक क्षेत्र भन्दै आएको घरजग्ग व्यवसायमा वाणिज्य बैंकहरुको लगानी बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट बैंकले घरजग्गा व्यवसायमा ऋण लगानीमा कडाइ गरे पनि बैंकहरुको लगानी भने बढेको हो ।

घरजग्गा (रियल स्टेट र व्यक्तिगत घर कर्जा) क्षेत्रमा गरेको लगानी तुलनात्मक रुपमा सुरक्षित र कम जोखिमयुक्त हुने भएकोले बैंक तथा वित्तीय संस्थााहरुको यस क्षेत्रमा लगानी बढ्दै गएको जानकारहरु बताउँछन् । विशेषगरी जग्गामा गरिएको लगानी डुब्ने सम्भावना न्यून रहने भएकाले पनि बैंकहरुले यस क्षेत्रमा ढुक्कले लगानी गर्ने उनीहरु बताउँछन् ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि आधुनिक घरहरु बनाउने क्रम बढेकाले बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाएको देखिन्छ । साथै, अन्तर्राष्टिय स्तरका आवासिय हाउजिड. र अर्पाटमेन्टहरु बढ्ने क्रम बढेकाले पनि बैंकहरुको लगानी बढ्न पुगेको हो ।

पूर्वबैंकर अनलराज भट्टराई केही वर्ष यता आवास निमार्ण तीव्र गतिमा बढ्दै गएकाले यस क्षेत्रमा बैंकहरुको ऋण लगानी पनि बढेको बताउँछन् । ‘पछिल्लो समय सहरदेखि गाम्रीण क्षेत्रमा आधुनिक र व्यावसायिक भवन बनाउने क्रम बढेको छ । प्रायजसोले बैंकबाटै ऋण लिएर निर्माण गर्ने गरेका छन् । यसले गर्दा यस क्षेत्रमा ऋण बढ्नु स्वभाविक नै हो,’ उनले भने ।

साथै, राष्ट बैंकले गरेको पछिल्लो व्यवस्था होटल, पर्यटन पूर्वाधार क्षेत्रमा लगानी गरेको ऋण तिर्ने समय थप गरेकाले पनि बैंकको लगानी बढेको देखिएको उनी बताउँछन् । ‘ पछिल्लो समय नेपालमा घरजग्गाको मूल्य तीव्र गतिमा बढ्दै गएकाले बैंकहरुले यस क्षेत्रमा कर्जाको कम जोखिम देखेकाले लगानी समेत बढाएको उनको भनाइ छ ।

२ वर्षमै थपियो सवा १ खर्ब ऋण

वर्षेनी घरजग्गा क्षेत्र (रियल स्टेट र व्यक्तिगत घर कर्जा)मा बैंकहरुको ऋण लगानी बढ्दै गएको नेपाल राष्ट बैंकको तथ्यांकले देखाएको छ । पछिल्लो साढे २ वर्षमा मात्रै बैंकहरुले घरजग्गा क्षेत्रमा थप १ खर्ब २३ अर्ब ऋण लगानी गरेका छन् । रियल स्टेट शिर्षकमा डेढ करोडभन्दा माथिको कर्जा र व्यक्तिगत घर कर्जामा डेढ करोडभन्दा कम रकमको कर्जा गणना गरिन्छ ।

आर्थिक २०७६/७७ सम्म बैंकहरुले घरजग्गा क्षेत्रमा कुल ३ खर्ब ५ अर्ब लगानी गरेकोमा चालू आर्थिक वर्ष २०७८/७९ को असोसम्म आइपुग्दा ४०.३२ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकहरुले रियलस्टेट भन्दा पनि व्यक्तिगत घर कर्जा ह्वात्तै बढेको छ । २०७६/७७ सम्म बैंकहरुको व्यक्तिगत घरकर्जा अन्तर्गत १ खर्ब ८६ अर्ब लगानी गरेको चालू आवको असोजसम्म आइपुग्दा बढेर २ खर्ब ५७ अर्ब पुगेको छ । साढे २ वर्षको अवधिमा बैंकहरुले व्यक्तिगत घर कर्जा शीर्षका थप ७१ अर्ब ऋण लगानी गरेका हुन् ।

त्यस्तै, सोही अवधिमा बैंकहरुले रियलस्टेमा थप ५३ अर्ब लगानी गरेका छन् । २०७६/७७ सम्म बैंकहरुका रियल स्टेटमा १ खर्ब १८ अर्ब लगानी गरेकोमा चालू आवको असोजसम्म बढेर १ खर्ब ७१ अर्ब पुगेको छ ।

कुन बैंकको घरजग्गामा कति ऋण लगानी ?

हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये घरजग्गा क्षेत्रमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै ऋण लगानी गरेको छ । एनआइसीले व्यक्तिगत आवायिस घर कर्जा अन्तर्गत ३० अर्ब ५२ करोड र रियल स्टेटमा १५ अर्ब ५९ करोड गरी कुल ४६ अर्ब ११ करोड ऋण लगानी गरेको छ ।

यस्तै, घरजग्गामा सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले दोस्रो धेरै ऋण लगानी गरेको छ । वाणिज्य बैंकले व्यत्तिःगत घर कर्जामा १७ अर्ब ९९ करोड र रियल स्टेटमा १३ अर्ब ८८ करोड ऋण लगानी गरेको छ । तेस्रो नम्बरमा घरजग्गामा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल रहेको छ । यस बैंकले सो क्षेत्रमा ३० अर्ब ५४ करोड रुपैयाँ घर जग्गामा ऋण लगानी गरेकोे छ । यसैगरी, घरजग्गमा ग्लोबल आइएमई बैंकले २६ अर्ब ६९ करोड, एभरेष्ट बैंकले २५ अर्ब ४५ करोड, मेगाले २० अर्ब ५ करोड, प्राइमले २० अर्ब र सनराइज बैैंकले १९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

घरजग्गामा सबैभन्दा कम नेपाल बंगलादेश बैंकले ५ अर्ब ६६ करोड लगानी गरेको छ । वाणिज्य बैंकहरुले औसतमा घरजग्गमा १५ अर्ब ७७ करोड ऋण लगानी गरेका छन् ।