नारायणी किनारमा पाँच महिना पछि आज देउवा र ओलीको यसरी हुँदैछ चोचोमोचो

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच पाँच महिनापछि भेट हुने भएको छ। देउवा र ओलीबीच नेकपा (एमाले) को १० औं महाधिवेशनका क्रममा चितवनमा भेट हुने भएको हो।

देउवा प्रधानमन्त्री नियुक्त भएयता दुई नेताबीच भेटवार्ता भएको छैन। असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि ओली नेतृत्वको सरकार हटेपछि देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

त्यसयता दुवै नेताबीच भेटवार्ता भएको छैन। ओली देउवाको सपथग्रहण समारोहमासमेत उपस्थित भएका थिएनन्।

अदालतको परमादेशपछि सत्ताच्युत भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले सत्तारुढ दलसँग संवाद लगभग तोडेको छ। संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर चितवन पुग्दैछन्। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाअनुसार देउवा दिउँसो १२ बजेर ४५ मिनेटमा चितवन पुगेका छन् ।

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भइसकेपछि मात्र देउवा त्यहाँ पुग्ने कार्यक्रम रहेको बताइएको छ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच संवादविहीनताको अवस्था रहेकाबेला एमालेको महाधिवेशनमा शुभकामना दिन पुग्न लागेका देउवाको सम्बोधन चासोको विषय बनेको छ।