कोरोनाले ज्यान गुमाएकाका सन्तानलाई गण्डकी सरकारले दिन थाल्यो मासिक पाँच हजार

  • प्रकाशित मिति : २०७८ मंसिर १०, शुक्रबार
  • chhanbin.com

गण्डकी प्रदेश सरकारले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बिहीबारदेखि त्यस्ता बालबालिकालाई रकम वितरण थालेको हो । कोभिड–१९ महामारीका कारण अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था सरकारले चालु वर्षको बजेटमै गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकको तथ्यांक संकलन गरी कागजात पुगेका ६० जनालाई बिहीबार रकम हस्तान्तरण गरेको छ । ३९ जना मृतकका ६० जना बालबालिकालाई पहिलो चरणको राहत वितरण गरिएको मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । राहत माग्दै मन्त्रालयमा एक सय ७० जनाले निवेदन दिएका छन् । तीमध्ये आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकीमध्ये १०२ वटा निवेदनको मापदण्ड बमोजिम कागजात पूरा हुन बाँकी छ । पहिलो किस्ताअन्तर्गत कात्तिक मसान्तसम्मका लागि ११ लाख ५ हजार रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

कोरोनाले आमा वा बुवामध्ये एक जना गुमाएका बालबालिकाले यस्तो राहत पाउँछन् । कोही बच्चाको अभिभावकको गत आर्थिक वर्षमा मृत्यु भएको भए उनीहरूले यो वर्षदेखि मासिक पाँच हजार रुपैयाँ पाउँछन् । राहत हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले नागरिकले महसुस गर्ने गरी काम गर्दै आएको दाबी गरे । आफू नेतृत्वको सरकार बनेको पाँच महिनामा भौतिक पूर्वाधार निर्माण हुन नसके पनि सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उनले बताए ।

सामाजिक क्षेत्रमा काम गर्ने अभियानअन्तर्गत कोभिडले अभिभावक गुमाएका बालबालिकालाई राहत प्रदान गरिएको मुख्यमन्त्री पोखरेलले सुनाए । ‘हामी बालबालिकाका अभिभावक त दिन सक्दैनौँ, तर ती बालबालिकालाई हामी अभिभावकत्व त दिन सक्छौँ नि भनेर यो काम थालेका हौं,’ उनले भने ।

कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधि पनि तयार भइसकेको र छिट्टे नै रकम हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताए ।