शुशिल कोइरालाकी पिए देखि सांसद सम्म महाधिवेशन प्रतिनिधिमा बढारिए, अरू को-को परे ?

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

मोरङको कांग्रेस अधिवेशनबाट चर्चित अनुहार नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नेता डा शेखर कोइरालालाई सभापतिमा जिताउनका लागि सक्रिय पुरञ्जन आचार्य नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। राजनीतिक विश्लेषक आचार्यसहित जिल्लामा ‘नाम चलेका’ अन्य नेताहरू पनि पराजित बनेका छन्।

प्रदेश १ मा कांग्रेसबाट समानुपातिक सांसद रहेका शेखरचन्द्र थापा मोरङ-३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। प्रदेश सभाका समानुपातिक सांसदद्वय बिन्दिया कार्की र शान्ता पौडेलले पनि महाधिवेशन प्रतिनिधि हुन सकेनन्। कार्की र पौडेल मोरङ-६ बाट पराजित भएका हुन्। मोरङ-६ नेता डा शेखर कोइरालाको निर्वाचन क्षेत्र हो।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मोरङ-३ बाट महाधिवेशन प्रतिनिधिमा पराजय भोगको छन्। संस्थापन पक्षका निरौला नेपाल शिक्षक संघका पूर्वअध्यक्ष समेत हुन्। उनी २०९ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित भएका छन्।

सुशील कोइराला प्रधानमन्त्री रहँदा उनी निकट रहेर काम गरेकी मृदुला कोइराला पनि पराजित भएकी छन्। महिला संघ मोरङकी सचिव प्रमिला थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। जिल्ला नेताहरु बाबुराम कोइराला र दामोदर कोइराला पनि पराजित भए।