ओली सरकारका चल्तापूर्जा मन्त्री रामवीर केन्द्रिय सदस्यमा उठ्ने, को हुन् रामवीर ?

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

शुक्रबारदेखि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूलतः पार्टी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय कमिटी चयनमा केन्द्रित हुँदै छ। सकेसम्म सर्वसम्मतिमै प्रमुख नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने जोडबल एमालेमा भए पनि अन्ततः सबै पदमा चुनावी प्रतिस्पर्धा नै हुने निश्चित जस्तै देखिएको छ।

चुनावी प्रतिस्पर्धाको माहोल बनेपछि पदाधिकारीमात्र होइन, केन्द्रीय कमिटीमा पनि आकांक्षीहरुको पंक्ति ठूलो देखिन थालेको छ। विभिन्न जनवर्गीय संगठनका नेतासँगै जिल्लाको राजनीतिमा केन्द्रित नेताहरुले पनि धमाधम केन्द्रीय कमिटी सदस्यमा दाबी गर्न थालेका छन्। यहि मेसोमा केपी ओली नेतृत्वको सरकारका शहरी विकाश राज्यमन्त्री तथा बहालवाला सांसद रामबीर मानन्धरले जनजाति कोटामा केन्द्रिय सदस्यमा उम्मेदारी प्रस्तुत गरेका छन्।

को हुन् मानन्धर ?

निरन्तर तीन दशक यता बाट नेकपा एमालेको तह तहको राजनीतिक जिम्मेवारीलाई छिचोलेर सफलतापूर्वक अगाडी बढीरहेको एमालेको एउटा जोधाहा सिपाहीको नाम हो रामबीर मानन्धर। २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौँ महानगरको १६ नम्बर वडाको अध्यक्ष हुँदै संबिधान सभा र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सम्ममा मानन्धरले एमाले पार्टीलाई जुरुक्कै काँध हाल्ने काम गरिरहे।

२०४९ देखि २०५९ सम्म नेकपा एमाले काठमाडौँ जिल्ला कमिटि सदस्यका रुपमा काम गरेका मानन्धर २०७० को दोश्रो संबिधान सभा निर्वाचनमा पूर्व मन्त्री हिसिला यमीलाई फराकिलो मतान्तरले पराजित गर्दै चर्चाको चुलीमा पुगे। २०७० सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा समेत लोभलाग्दो मत ल्याएर मानन्धरले आफ्नो जनस्तरको लोकप्रियताको जाँच गराए।

चर्चित र उल्लेख्य काम गर्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा शहरी विकाश राज्यमन्त्रीका रूपमा पनि मानन्धरले दर्बिलो उपस्थिती जनाए। राज्यमन्त्रीका रुपमा मानन्धरले एकै कार्यकालमा सात मन्त्रीलाई स्वागत र बिदाई गर्ने दुर्लभ अवसर पनि पाए। कोरोनाले त्राही-त्राही भएका नागरिकलाई हौसला बढाउँन र सरकारी तयारीको अबस्थाका बारेमा फिल्डमा खटिएर काम गर्ने मन्त्रीका रुपमा समेत पहिलो लकडाउनका समयमा मानन्धरको चर्चा भयो। त्यो बेला की प्रधानमन्त्री केपी ओली कि त शहरी बिकाश राज्यमन्त्री रामबिर मानन्धर मात्र आम संचार माध्यममा सुनिन्थे।

राज्यमन्त्री कै तह बाट भएपनि मानन्धरले केपी ओली नेतृत्वको सरकारलाई जुरुक्कै काँध हाले, ओली सरकारको लोकप्रियताको केही हिस्सा मानन्धरको अथक मेहनतका कारण भएको हो। जसको ज्वलन्त उदाहरण फुसको छाना बिस्थापित गरेर जस्ताको छाना दिने निर्णय कार्यन्वयन हुनु हो। जस्ताको छानाको अबधारणा मानन्धरकै हो। अहिले ७७ जिल्लामा हरियो टिनले छाएका घरमा उनै मानन्धरको योजना टल्किएको छ।

यति मात्र होइन मानन्धरले राजधानीका सम्पदा संरक्षणमा समेत उल्लेख्य काम गरे। रानीपोखरी निर्माणमा तदारुकता देखाउनका साथै काठमाडौँको फोहोर ब्यबस्थापनमा समेत उत्तिकै काम गरे। बन्चरे डाडा ल्याण्डफिल साईट निर्माणको काम देखि फोहोर मैला सुचना केन्द्र निर्माण लगायतका काम पनि मानन्धरकै सक्रियता र पहलमा भयो।

पहिलो पटक कोरोना कहरमा कष्टकर जीवन बिताएकालाई खानेकुराको मेलोमेसो मिलाउने देखि दिर्घ रोगीलाई उपचार गराएर मानन्धरले सरकारको नाक राखे। बिरामीको घरमै अक्सिजन सिलिन्डर मन्त्रीले पुर्याए भन्ने समाचार त्यो बेला भाईरल नै बन्यो। व्यक्तिगत काम लाई थान्को लगाएर राज्यले गर्नुपर्ने काम मन्त्रीको हैसियतमा गर्दै सरकारलाई काँध हालेका मानन्धरले एमालेको दशौ महाधिवेशनमा जनजाति कोटा मा केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

सिंगो काठमाडौँ जिल्ला त्यसमाथि क्षेत्र नम्बर ७ मा पकड जमाएका मानन्धर भिजन सहितका बिकाशप्रेमी नेताका रूपमा परिचित छन्। एमालेको केन्द्रिय राजनितीमा दर्बिलो उपस्थिति जनाउन सके मानन्धरले सिंगो मुलुकका लागि अझ योगदान दिने एमालेका उच्च तहका नेताले गर्व सहित बताउने गरेका छन्।