असार ०७० मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीले माधव नेपाललाई मात्र ५६ मतको अन्तरले अध्यक्षमा पराजित गरे। भलै ओली–नेपालबीचको मतान्तर कम रह्यो, तर प्रतिस्पर्धाको माहोल हेर्दा ओली सहजै विजयी बन्छन् भन्ने प्रष्ट थियो।
अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद महासचिवमा कसले विजय हासिल गर्ला भन्ने कुरा चाहिँ अध्यक्षजस्तो स्पष्ट थिएन। दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका महासचिव ईश्वर पोखरेल र युवा पुस्तामा लोकप्रिय सुरेन्द्र पाण्डेबीच यति तीव्र प्रतिस्पर्धा थियो कि बाजी कसले मार्ला, भन्न सक्ने स्थिति नै थिएन।
परिणाम पनि त्यस्तै आयो। जम्मा ६ मतान्तरले ईश्वर पोखरेल महासचिवमा विजयी भए। नवौँ महाधिवेशनमा जसरी महासचिव कसले जित्ला भन्ने अनुमान गर्न सकिन्न्थ्यो, त्यसरी नै आसन्न दसौँ महाधिवेशनमा पनि महासचिवमा कसले बाजी मार्ला भन्न सक्ने स्थिति छैन।
किनभने, अध्यक्ष ओलीका दाहिना मानिने दुई प्रभावशाली नेताहरु विष्णु पौडेल र शंकर पोखरेल महासचिवका दाबेदार छन्। अध्यक्षपछि धेरै कार्यकारी भूमिका रहेको महासचिवको जिम्मेवारी कसले प्राप्त गर्ला भन्ने चासो एमाले पंक्तिमा तीव्र छ। महासचिव ईश्वर पोखरेलको ‘वरिष्ठ उपाध्यक्ष’ मा ‘प्रमोसन’ हुने पक्का भइसकेकाले ‘नयाँ महासचिव को होला?’ भन्ने कुरा कार्यकर्ताहरुको कानेखुसीको विषय हुन थालेको छ।
विष्णु पौडेल र शंकर पोखरेलबाहेक महासचिवका दाबेदार स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि हुन्। नवौँ महाधिवेशनमा महासचिवमै प्रतिस्पर्धा गरेका आधारमा पाण्डेले ‘अब त्योभन्दा तलको जिम्मेवारी आफ्ना लागि सुहाउँदो नहुने’ बताइसकेका छन्।
यसको अर्थ महासचिव वा पदीय बरियताको दृष्टिले त्योे भन्दा माथिको जिम्मेवारी अर्थात् उपाध्यक्षको जिम्मेवारी आफ्ना लागि न्यायसंगत हुन्छ भन्ने हो। ओली पाण्डेलाई महासचिव बनाउन अवश्य चाहँदैनन्। तर, ओलीले नजरअन्दाज गर्न नसक्ने अर्थात् व्यवस्थापन गर्नैपर्ने पात्र उनी पनि हुन्। किनभने, ओली समूहले कम आँक्दाआँक्दै पनि पाण्डेले नवौँ महाविधेशनमा महासचिव निर्वाचित ईश्वर पोखरेललाई झण्डै हराएका थिए। ओली समूहमै रहेका ‘समझदार’ कार्यकर्ताहरुबीच पाण्डे अहिले पनि लोकप्रिय छन्।
महासचिवका दुई दाबेदार विष्णु पौडेल र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने स्थिति भयो भने पाण्डेले पनि यही जिम्मेवारीका लागि प्रतिस्पर्धा गर्न सक्छन्। ओली समूहका दुई हस्तीबीचको प्रतिद्वन्द्विता हुँदा त्यसको फाइदा उठाउँदै पाण्डेले विजय हासिल गर्न पनि के बेर?
पाण्डेलाई महासचिवको दौडबाट रोक्ने हो भने ओलीले उनको ‘उचित व्यवस्थापन’ गर्नुपर्ने हुन्छ। पाण्डेको उचित व्यवस्थापन भनेको उनलाई पनि उपाध्यक्षको जिम्मेवारी दिनु हो। विधानतः चार वटा मात्र उपाध्यक्षको पद रहेकाले पाण्डेलाई यो पदमा व्यवस्थापन गर्न ओलीलाई त्यति सहज भने छैन। उपाध्यक्षका चार सिटमध्ये रामबहादुर थापा, सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको सिट ‘बुकिङ’ भइसकेको एमाले स्रोतहरु बताउँछन्।
अध्यक्षमा प्रतिस्पर्धाको घोषणा गरेर उपाध्यक्ष भीम रावलले ओलीलाई सजिलो बनाइसकेका छन्। प्रतिस्पर्धामै उत्रेपछि रावललाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ओलीसँग रहेन। अर्का उपाध्यक्ष युवराज ज्ञवालीको व्यवस्थापन अनुशासन आयोगको अध्यक्षमा हुने चर्चा छ।
यो स्थितिमा उपाध्यक्ष बस्ने एक सिट खाली रहन्छ। तर, यो सिट पाण्डेले नै पाउँछन् भन्ने छैन। किनभने, विष्णु पौडेल वा शंकर पोखरेलमध्ये जो महासचिवको दाबेदारी छाड्न राजी हुन्छन्, त्यो नेतालाई ओलीले उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ।
यसो हुँदा पाण्डेले उपाध्यक्षको जिम्मेवारी नपाउने सम्भावना हुन्छ। उपाध्यक्षको जिम्मेवारी नपाउने अवस्था आयो भने उनी महासचिवको प्रतिस्पर्धी हुनेछन्। उनले प्रतिस्पर्धाको घोषणा गरे भने पाण्डेलाई मात दिनसक्ने महासचिवको उम्मेदवार खडा गर्नुपर्ने हुन्छ।
प्रतिस्पर्धाको स्थितिमा ओलीले विष्णु पौडेललाई अघि सार्न सक्छन्। किनभने, उनी नवौँ महाधिवेशनमा उपमहासचिवमा सबैभन्दा बढी मत ल्याएर विजयी बनेका हुन् भने शंकर पोखरेल यही पदमा घनश्याम भुसालबाट पराजित भएका हुन्।
‘१० नेता समूह’ का भए पनि लोकप्रिय छविका कारण पाण्डेसँग प्रतिस्पर्धा गर्न शंकर पोखरेलभन्दा विष्णु पौडेल नै उपयुक्त हुन्छन् भन्ने मत ओलीपक्षीय नेताहरुको देखिन्छ।
उपाध्यक्षमा पाण्डेको व्यवस्थापन हुन सकेन भने मात्र महासचिवमा प्रतिस्पर्धा हुने हो। तर, पाण्डेको व्यवस्थापन हुँदा पनि महासचिवमा विष्णु पौडेलकै सम्भावना ज्यादा देखिन्छ। एमाले नेतृत्वको वरियतामा शंकर पोखरेलभन्दा आफू अगाडि हुनुको फाइदा विष्णु पौडेललाई छ।
विष्णु पौडेल नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिव हुन् भने शंकर पोखरेल स्थायी समिति सदस्य मात्र हुन्। कनिष्ठ पोखरेललाई महासचिव स्वीकार गरेर उनी भन्दा वरिष्ठ र तीन वर्ष नेकपाको महासचिव समेत रहेका पौडेललाई ‘तपाईं यसपटक पनि उपमहासचिवमै प्रतिस्पर्धा गर्नुस्’ भन्न ओलीले पनि सक्ने छैनन्।
बरु, ‘मेरो अप्ठेरो बुझिदिनुस्’ भन्दै शंकर पोखरेललाई ‘यसपटक उपमहासचिव बन्नुस्, अर्काे पटक महासचिव पक्का’ भन्न ओलीलाई सहज हुनेछ। ओलीको आग्रह पोखरेलले अस्वीकार गर्लान् भन्ने कल्पना पनि गर्न सकिन्न।
यसको मतलब यो होइन कि शंकर पोखरेल दसौँ महाधिवेशनबाट महासचिव बन्ने सम्भावना ठ्याम्मै छैन। महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ नेताहरुको व्यवस्थापन निकै पेचिलो बन्दै गएकाले उपाध्यक्षको दुई ‘दरबन्दी’ थप गरेर ओलीले सुरेन्द्र पाण्डे र विष्णु पौडेल दुवैलाई उपाध्यक्षको जिम्मेवारी दिन पनि सक्छन्। यो स्थितिमा शंकर पोखरेल एमालेको नयाँ महासचिव बन्न सक्छन्।
बुझ्नु पर्ने कुरा के हो भने, ओलीले विष्णु पौडेललाई ‘आफूलगत्तैको’ र शंकर पोखरेललाई ‘त्यसपछिको’ उत्तराधिकारीको रुपमा अघि बढाउन खोजिरहेका छन्। एकतापछि पौडेलले नेकपाको महासचिव, अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनुको कारण पनि यही थियो।
त्यसैले, पदाधिकारी संख्या थप नभएको स्थितिमा दसौँ महाधिवेशनबाट एमालेको नयाँ महासचिव विष्णु पौडेल बन्नेछन्, थप भएको स्थितिमा शंकर पोखरेल।