प्रकाशमान-गगन मिलेपछि देउवाले सिटौला गुहारे, सिटौलाको बैशाखी टेकेपछि देउवा कति सुरक्षित ?

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसमा अहिले नयाँ ध्रुवीकरण देखिएको छ । काठमाडौंसहित केही जिल्लामा सभापति शेरबहादुर देउवा र तेस्रो धारको प्रतिनिधित्व गरेको दाबी गर्दै आएका कृष्णप्रसाद सिटौलाबीच अलायन्स बनेको छ ।

काठमाडौं जिल्लाको निर्वाचनमा देउवा र सिटौलाले भिमसेनदास प्रधान नजिकका उपेन्द्र कार्कीलाई सभापतिको उमेदवारमा अघि सारेका छन् । त्यस्तै प्रकाशमान सिंह र गगन थापाले काठमाडौं जिल्ला सभापतिमा बहालवाला सभापति सबुज बानियाँलाई अघि सारेका छन् ।

“हामीले काठमाडौं कांग्रेसको सभापतिमा साझा उमेदवार उपेन्द्र कार्कीलाई बनाएका छौँ,” प्रधानले भने, “कार्यसमितिमा रहने अन्य पदाधिकारी र सदस्यहरुको नाम २ बजेसम्म तयार पार्नेछौँ ।”

उनले बाँकी पदाधिकारी र सदस्यको नाम तय गरेर आजै प्यानल घोषणा पनि गर्ने जानकारी दिए । नेपाली कांग्रेसको महाधिवेशन तालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भोलि जिल्ला अधिवेशन हुने छ ।

काठमाडौंमा शेरबहादुर देउवा निकटहरु प्रकाशमानसँगै रहने हुँदा यसअघि प्रकाशमान निकटहरु निर्वाचित हुँदै आए पनि यसपटक देउवा समूह अलग भएपछि काठमाडौं कांग्रेसमा कडा टक्कर हुने देखिएको छ ।

यसअघि काठमाडौं क्षेत्र नम्बर २ मा भने देउवा–सिटौला समूहकै आएका थिए । दुवैजना क्षेत्रीय सभापति देउवा–सिटौला समूहका निर्वाचित भएका थिए । त्यसबाहेकका क्षेत्रमा भने प्रकाशमान–गगनको प्यानल अघि रहेको छ । काठमाडौँका १० निर्वाचन क्षेत्र मध्ये प्रकाशमान र गगन समुहले ८ क्षेत्रमा जित हासिल गरेको छ।