जोखिमका जनतालाई बास दिने शहरी विकाश मन्त्री रामकुमारी झाँक्रीको यस्तो छ योजना

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन्।

उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भएबमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको बताइन्।

बिहीबारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्तीसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५औँ योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताइन्।

राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनामा नेपालको दिगो विकासको लक्ष्यहरु र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको बताइन्।

चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू रहेको बताइन्। मन्त्री झाँक्रीले भनिन्, ‘योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भएबमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छ।

उनले अगाडि भनिन्, ‘राष्ट्रिय योजना आयोगबाट तयार भएको १५औँ योजनामा परिकल्पना गरिएको नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन्।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताए।

भूकम्पपछिको पुनर्निर्माणमा निजी घरहरूको पुनर्निर्माण लगभग सकिएको पनि बताए। पुनर्निर्माणपछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको बताए। भूकम्पपछिको पुनर्निर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्वपूर्ण सिकाइ हुने कार्यकारी अधिकृत ज्ञवालीले बताए।

उनले भने, ‘१८ हजार परिवारहरुको घर बनाउनुपर्नेमा १४ हजार परिवारहरुको घर निर्माण पूर्णरुपमा सम्पन्न भएको छ। १२ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अब आउँदो दिनमा चाँडै नै बाँकी रहेका घर निर्माणको कामलाई सकेर विकासको निम्ति हामी अघि बढ्नेछौँ।’

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुनेछ। सम्मेलनले दीर्घकालीन पुनर्लाभसम्बन्धी छलफल गरिनेछ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवाससम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकैठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ।