प्रकाशमान र गगन मिलेर जिते काठमाडौं आठ निर्वाचन क्षेत्र, दुई क्षेत्रमा कसले मार्यो बाजी ?

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा प्रकाशमान सिंह र गगन कुमार थापाको अलायन्सले ८ ठाउँमा सफलता प्राप्त गरेको छ। संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका कांग्रेसको सिंह–थापा पक्षका नेताहरुले काठमाडौंका १० मध्ये ८ निर्वाचन क्षेत्र (संघीय)मा सफलता हात पारेका छन्।

वडा, पालिका र प्रदेश सभा क्षेत्रको अधिवेशनमा गठजोड गरेका सिंह र थापाले प्रतिनिधि सभा क्षेत्रको अधिवेशनमा पनि सहकार्य गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा उक्त पक्षबाट रवीन्द्रविक्रम राणा निर्विरोध चयन भएका छन्। काठमाडौं १ नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र पनि हो। सिंहको क्षेत्रमा सर्वसम्मत चयन गरिएजस्तै थापाको क्षेत्र (क्षेत्र नम्बर ४ मा) पनि निर्विरोध सभापति चयन भएका छन्। थापाको निर्वाचन क्षेत्रको कांग्रेस सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत चुनिएका छन्।

क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे विजयी भएका छन्। चालिसे गोकर्णेश्वर नगरपालिका मेयर समेत हुन्। काठमाडौं ५ मा प्रकाशमान–गगन पक्षकै श्याम खड्का सभापतिमा चयन भएका छन्। सोही पक्षबाट क्षेत्र नम्बर ७ मा मुकुन्द रिजाल फराकिलो मतान्तर सहित विजयी भए।

काठमाडौं क्षेत्र नम्बर ८ मा प्रकाशमान–गगन पक्षकै दुई उम्मेदवारमध्ये राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। काठमाडौं ९ मा विजयी जयकृष्ण महर्जन र १० मा निर्वाचित पुकार श्रेष्ठ सोही पक्षका हुन्।

काठमाडौंमा संस्थापन पक्ष कमजोर देखिएको छ। सभापति शेरबहादुर देउवा पक्षले एउटा मात्रै निर्वाचत क्षेत्रको क्षेत्रीय सभापति जितेको छ।
देउवा निकट उम्मेदवार कविर शर्मा काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भए। देउवा पक्षका शर्मा सिंह–थापा प्यानलका अर्जुन पराजुलीलाई पराजित गरेर क्षेत्रीय सभापति निर्वाचित भएका हुन्।

तेस्रो धारका नेताका रुपमा परिचित कृष्ण सिटौला पक्षले पनि काठमाडौंको १ क्षेत्रमा जित निकालेको छ। सिटौला निकट नेता भिमसेनदास प्रधानले उठाएका श्याम खड्गी काठमाडौं ६ बाट विजयी भएका छन्।

काठमाडौं जिल्ला सभापतिमा नेता प्रकाशमान सिंह निकट सबुज बानियाँ प्रतिस्पर्धामा उत्रिने भएका छन्। बानियाँ दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका बानियाँलाई नेता थापाको पनि साथ छ।