नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्यातभन्दा आयात बढ्दा पछिल्लो समय तरलतामा दबाब देखिएको बताएका छन्। अधिकारीले नेपालमा हरेक वर्ष कुनै न कुनै समयमा तरलता समस्या देखिँदै आएको पनि जानकारी दिएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (नाफिज)ले बुधबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले केन्द्रीय बैंकले त्यसको व्यवस्थापनका लागि प्रयास गरिरहेको समेत बताएका छन्।
उनी भन्छन्, ‘तरलताको समस्या हामीले हरेक वर्ष कुनै न कुनै किसिमले एउटा सिजनमा भोग्दै आएका छौं। गत वर्ष मात्रै कर्जाको माग कम भएको र रिफाइनान्स प्रशस्त गएको कारण तरलता सहज भएको हो। अहिले तरलताको समस्या टार्न राष्ट्र बैंकले अर्बौंको तरलता बजारमा समेत पठाएको छ।’
उनले हरेक वर्ष मंसिर, पुसमा बैंकिङ प्रणालीमा तरलताको समस्या देखिने गरेको बताएका छन्। उनले भने ‘कर्जाको माग धेरै हुने तर सरकारले समानुपातिक रुपमा बजेट खर्च गर्न नसक्ने कारण यस समयमा तरलता समस्या आउने गर्छ। गत वर्ष भने कारोना महामारीको कारण कर्जाको भाग निकै कम थियो भने बैंकिङ प्रणालीमा निक्षेप संकलन थुप्रिएर बसेको थियो। यसैकारण गत वर्ष बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था थियो।’
यो वर्ष कर्जाको माग धेरै भएका कारण ब्याजदर केही माथि गएको उनको बुझाइ छ। यसले गर्दा चालू आर्थिक वर्षमा मूल्य वृद्धिमा चाप पर्ने देखिएको समेत गभर्नर अधिकारीले बताए। तर, असोजयता सरकारी खर्च राम्रै भएको समेत उनले बाताए। अहिले केन्द्रीय बैंकले बैकिङ सिस्टम र बैंकहरूलाई बलियो बनाउन सीडी रेसियो लगायतका सूचकहरु ल्याएको समेत अधिकारीले प्रष्ट पारेका छन्।
यसले सिस्टमलाई र संस्था दुवैलाई जोगाएको उनले बताए। भोलि ओतै लाग्न नसक्ने अवस्था आए पनि यी सूचकहरुका कारण बचाउन सकिने उनले बताए। कर्जाको ब्याजदर अझै औसतमा ९ प्रतिशतभन्दा कम छ। उनले कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको बताए।