यी हुन् १ नम्बर प्रदेश बाट एमाले पदाधिकारीमा दाबी पेश गर्ने ११ भाई, कसको अबस्था कस्तो ?

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनका प्रतिनिधि छनोट लगायतका सम्पूर्ण काम सकिएको छ। वडा र पालिका अधिवेशन सकेर एमाले महाधिवेशनमा जुटेको हो।

महाधिवेशन आउन ४ दिन बाँकी छ। तर, एमालेमा तीव्र आकांक्षा भएर पनि नेताहरुले उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। अघिल्ला महाधिवेशनभन्दा यसपटकको महाधिवेशन शान्त देखिएको छ। महाधिवेशनअघि भएका वडा, पालिका र प्रतिनिधि चयन केही क्षेत्रमा बाहेक सर्वसम्मत भएका छन्। महाधिवेशनअघि दुई गुट प्रस्ट रुपमा देखिने गरेको एमालेमा यसपटक त्यस्तो देखिएको छैन।

माधवकुमार नेपाल एमालेबाट अलग भएर नयाँ पार्टी खोलेसँगै एमालेमा एकै गुट जस्तो देखिएको छ। लामो समयसम्म नेपाल समूहमा रहेर पार्टी विभाजनमा उनलाई साथ नदिएका पनि अहिले एमालेमा चुपचाप छन्। ओली समूहमा रहेका नेता पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गर्न सकिरहेका छैनन्। अहिले भइरहेको पदमा पुनः रहन पाइयो भने भयो भन्नेमा पनि नेताहरु रहेका छन्।

प्रदेश १ बाट राजनीति गर्दै आएका एमालेका केही नेताबाहेक अन्यले उम्मेदवारी घोषणा गरेका छैनन्। घोषणा गरेकाहरुले पनि दावी गरेको पद पाइनेमा ढुक्क छैनन्। एमालेका एक केन्द्रीय सदस्यले भने, ‘प्रचारमा आउन मात्रै उम्मेदवारी घोषणा हो, वास्तविकतामा पाउन मुस्किल छ।’

प्रदेश १ बाट राजनीति गर्दै आएका स्थायी कमिटी सदस्य सुवास नेम्बाङ वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन। इलामका नेम्बाङ वरिष्ठ उपाध्यक्षका आकांक्षी भए पनि उनले उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। सहमतिमा नेतृत्व चयन गरिने भएकाले उम्मेदवारी घोषणा आवश्यक नभएको उनले बताए। अर्को महाधिवेशनमा उमेरले अध्यक्ष बन्नबाट रोक्ने र लामो समय एमालेमा रहेर राजनीति गरे पनि अध्यक्ष नभई बिदा हुने हुनुभयो नि भन्ने जिज्ञासामा उनले अध्यक्ष नै हुनुपर्छ भन्ने नभएको बताए। अन्य जिम्मेवारीमा रहेर पनि पार्टीको काम गर्न सकिने उनको भनाइ छ। यस्तै महासचिव ईश्वर पोखरेल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी छन्।

उपाध्यक्षमा लालबाबु पण्डित र देवराज घिमिरेले आकांक्षा राखेका छन्। तर, दुवै नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। पण्डित लामो समय माधवकुमार नेपाल समूहमा थिए। तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पुस ५ मा गरेको पहिलो प्रतिनिधिसभा विघटन पनि कुनै गुटमा नदेखिएका उनी प्रतिनिधिसभा पुनर्स्थापनापछि ओली समूहतिर नजिकिए। पार्टी विभाजनअघि नै उनी ओली समूहमा खुलिसकेका थिए। नवौं महाधिवेशनमा उनले नेपाल समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यति बेला पण्डितले १७४ मत ल्याएका थिए।

उपाध्यक्षमा एमाले प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले आकांक्षा देखाएका छन् उनले पनि आफ्नो उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। उनले भने, ‘पदाधिकारीमा उठ्नै परे उपाध्यक्षमा लड्ने हो, त्योभन्दा तल मेरो इच्छा छैन।’ घिमिरे एमालेको ५ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि निर्वाचित र मनोनीत हुँदै केन्द्रीय सदस्य हुँदै आएका छन्। १० औं महाधिवेशनमा २० वर्षदेखि केन्द्रीय सदस्य भएकाहरु पुनः केन्द्रीय सदस्य हुन नपाउने पार्टीभित्र आवाज उठेकाले घिमिरेले उपाध्यक्षमा आकांक्षा राखेको हुन सक्ने एक नेताले बताए।

सचिवमा भीम आचार्य, योगेश भट्टराई, गुरु बराल, जीवन घिमिरे, शेरधन राई, भानुभक्त ढकाल, हिक्मतकुमार कार्की र राजेन्द्र गौतमले दाबी गरिरहेका छन्। गुरु बरालबाहेक अन्य नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न सकेका छैनन्। बराल पनि २० वर्षदेखि केन्द्रीय सदस्य हुँदै आएका छन्। पुनः केन्द्रीय सदस्य बन्न नपाइने भयले उनले पनि पदाधिकारीमा आकांक्षा राखेको बताइएको छ।

सुनसरीका भीम आचार्य र ताप्लेजुङका योगेश भट्टराई नवौं महाधिवेशनमा नेपाल समूहबाट सचिवमा निर्वाचित भएका थिए। पार्टी विभाजनअघि सम्म नेपाल समूहमा रहेका दुवै नेताहरु १० बुँदे सहमति गरी एमालेमै थिए। आचार्य प्रदेश १ को २ महिने मुख्यमन्त्री समेत बने। गुरु बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मतकुमार कार्की, राजेन्द्र गौतम, अघिल्लो महाधिवेशनमा ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। राई साढे ३ वर्ष मुख्यमन्त्री समेत भए। बराल पूर्व सांसद, ढकाल पूर्वमन्त्री, कार्की साढे ३ वर्ष प्रदेश १ को आन्तरिक मामिला मन्त्री भए। गौतम संखुवासभाका प्रतिनिधिसभा सदस्य हुन्।

जीवन घिमिरे अघिल्लो महाधिवेशनमा नेपाल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनले एक कार्यकाल अञ्चल इन्चार्जको पनि भूमिका निर्वाह गरिसकेका छन्। झन्डै ३ वर्ष प्रदेश १ को सामाजिक विकास मन्त्री भए उनी।

सचिवमा आधा दर्जन नेताहरुले दावी गरे पनि आचार्य र भट्टराईको सम्भावना बढी देखिएको एक नेताले बताए। उनले भने, ‘अरुको दावी मात्रै हो।’ माथिल्लो पद ताकेर केन्द्रीय सदस्यमै रहनका लागि पदाधिकारीमा दाबी गरेको हुन सक्ने उनले बताए।

प्रदेश १ बाट केन्द्रीय सदस्यका लागि पनि केही नेताहरुले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा नगरी केन्द्रीय सदस्यका लागि लबिङ गर्नेहरुको संख्या पनि धेरै रहेको नेताहरुले बताएका छन्। उषाकला राई, तुलसी न्यौपाने लगायतका नेताहरुले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा छन्। १० औं महाधिवेशनमा प्रदेश १ बाट २९९ जना प्रतिनिधिले सहभागिता जनाउने एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरेले बताए।