एमालेको पदाधिकारी तथा केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट दावेदार को-को छन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

नेकपा (एमाले) को दशौँ महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुदूर पश्चिमका नेताहरु थपिएका छन्।
महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरुले विभिन्न तरिकाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्।

अहिलेसम्म सुदूर पश्चिमबाट केन्द्रीय पदाधिकारी दावी गर्नेमा एमाले सुदूर पश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा र माओवादीबाट एमालेमा प्रवेश गरेका एमाले सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट रहेका छन्। उनीहरु दुुवै जनाको केन्द्रीय सचिवमा दावेदारी छ।

यसैगरी हालसम्म केन्द्रीय सदस्य दावी गर्नेहरुमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, बैतडीका प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नरबहादुर धामी, डडेलधुराका प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री पठानसिंह बोहरा, बैतडीका प्रदेशसभा सदस्य लीलाधर भट्ट र अछामका पूर्वजिविस सभापति कृष्णप्रसाद जैसी रहेका छन्।

त्यस्तै कैलालीका एमाले अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापा, डोटीका अध्यक्ष चक्र मल्ल, अछामका पूर्वअध्यक्ष कमल तिमिल्सेना र कैलालीका युवा नेता धर्मराज पाठक पहिलोपटक केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका छन्। बैतडीका भण्डारी नवौँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए।

दावेदारको संख्या अझै बढ्ने एमालेका नेताहरु बताउँछन्। यसपटक उम्मेदवार बन्ने प्रायः सबैले कुनै न कुनै बेला पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका छन्। कञ्चनपुरका प्रतिनिधिसभा सदस्यद्वय भट्ट र धामी तथा कैलालीका पाठक अनेरास्ववियुबाट राजनिति सुरु गरेका हुन्। भट्टले भारत प्रवासमा धामी र पाठकले नेपालमा केन्द्रीय स्तरको अखिलको काम गरेका छन्।

हाल एमालेको केन्द्रीय कमिटीमा सुदूर पश्चिम प्रदेशबाट १७ जना छन्। तीमध्ये अब दशौँ महाधिवेशनबाट कति जना फेरि चुनिएलान् भन्ने चासो अहिले चलिरहेको छ। हालको केन्द्रीय कमिटीमा नवाैँ महाधिवेशनबाट भीम रावल (उपाध्यक्ष), कर्णबहादुर थापा (प्रदेश अध्यक्षसमेत), महेश्वर पाठक, गणेश ठगुन्ना, लालबहादुर थापा, निरुदेवी पाल, प्रकाशबहादुर शाह र भैरववहादुर सिंह निर्वाचित भएका थिए।

नवौँ महाधिवेशनमा निर्वाचित गरिमा शाह, रामकुमार ज्ञवाली, प्रेम आलेमगर, निरा जैरु र विक्रम शाही भने एमाले विभाजनपछि एकीकृत समाजवादीतिर लागेका छन्। यस्तै नवौँ महाधिवेशनपछि एमालेमा विभिन्न समयमा झपटबहादुर रावल, नारदमुनि राना, गौरी ओली, दीपकप्रसाद देवकोटा र राजेन्द्र रावल केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

एमालेमा माओवादीबाट प्रवेश गरेका लेखराज भट्ट (स्थायी समिति सदस्य), गौरीशंकर चौधरी र झपट बोहरा केन्द्रीय कमिटीमा छन्। कैलालीका ०६४ का संविधानसभा सदस्य लीला भण्डारी तत्कालीन नयाँ शक्तिबाट एमालेमा प्रवेशपछि केन्द्रीय सदस्यको भूमिका छिन्। १७ जना केन्द्रीय नेताहरुमध्ये उपाध्यक्ष रावलले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।