फाइभ स्टार होटल ह्यात प्लेसले आइपीओ जारी गर्दै, कति कित्ता आउंदैछ ?

  • प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार
  • chhanbin.com

हालै संचालनमा आएको कान्छो पाँचतारे होटल ह्यात प्लेसले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

ह्यातको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले सर्वसाधरणलाई आइपीओ जारी गर्ने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको जनाएको छ। कम्पनीको जारी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। सोही रकमको १० प्रतिशत अर्थात् १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

यसैबीच, कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्यान र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।

होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका व्यापारीहरुको लगानी छ। १५३ वटा कोठा रहेको होटलमा लाइभ म्यूजिकसहितको रेष्टुरेन्ट, ब्यांकेट हल, जिम, स्विमिङ पुल र ४०० जनासम्मको क्षमता रहेको कन्फ्रेन्स हल छन्।

अमेरिकामा रहेको ह्यात होटल्स कर्पोरेसनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा एक हजार वटाभन्दा बढी अन्तर्राष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन्। सोही अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस आएको कम्पनीले जनाएको छ।