बैंकमा राखेको पैसा रित्तिन थाल्यो, कसले झिक्यो एक महिनामै ४३ अर्ब ?

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । तरलता अभाव झेरिरहेका बैंकहरु भएकै निक्षेप पनि घट्न थालेपछि झनै समस्यामा परेका छन् ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्ब रुपैयाँले घटेको छ । गत असोज मसान्तसम्म कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्बमा सीमित भएको छ ।

मंसिरको पहिलो सातमा मात्रै निक्षेप ७ अर्बले घटेको संघले जनाएको छ । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्बमा झरेको छ । पछिल्लो समय नेपाल आयल निगमले तेल एकैपटक ठूलो रकम झिकेकाले निक्षेप बाहिरिएको बैंकरहरु बताउँछन् । त्यस्तै, चाडवाड सकिएकाले यसअघि बैंकका पैसा राखेकाहरुले पनि व्यापार व्यवसाय गर्न पैसा झिकेको अनुमान गरिएको छ ।

एक महिनाको अवधिमा ४३ अर्ब घट्नुका बाबजूद कर्जा लगानी भने बढेको छ । गत असोज मसान्तसम्मको कुल ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म ३६ अर्बले बढेर ४० खर्ब ४१ अर्ब पुगेको छ ।

सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । सोही अवधिमा कर्जा रु ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप ७ अर्बले घट्दा कर्जा लगानी ७ अर्बले बढेको छ ।

गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।

असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको सङ्घले जनाएको छ ।