दुबई सरकारले विदेशी कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च निःशुल्क गर्यो, नेपालीलाई फाईदा

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

यूएई सरकारले विदेशी कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च निःशुल्क गरेको छ । यूएई सरकारले जारी गरेको नयाँ श्रम कानुनअनुसार अब विदेशी कामदारले रोजगारीमा आउँदा कुनै खर्च लाग्ने छैन । श्रम कानुनमा गरिएको सुधारबारे त्यहाँको मानव संशाधन मन्त्रालयले सम्बन्धित देशका कूटनीतिक नियोगलाई जानकारी गराइसकेकाे छ ।

नयाँ श्रम कानुन सन् २०२२ को फेब्रुअरी २ तारिखदेखि लागू हुने पनि मानव संशाधन मन्त्रालयले प्रस्ट पारेको छ । नयाँ श्रम कानुनले श्रमिकको निःशुल्क मुद्दा लड्न पाउने व्यवस्थादेखि यौन दुर्व्यवहारमा परेका महिला कामदारहरूको संरक्षणजस्ता विषयलाई पनि समेटेको यूएईको खालिज टाइम्सले जनाएको छ ।

खालिज टाइम्सका अनुसार कुनै विदेशी श्रमिकले मुद्दा लड्नुपर्ने भएमा शुल्क लाग्ने छैन । विगतमा मुद्दाको प्रकृतिअनुसार खर्च तिनुपर्ने कानुनलाई परिमार्जन गर्दै आगामी फेब्रुअरीदेखि भने विदेशी कामदारले निःशुल्क मुद्दा लड्न पाउने व्यवस्था गरिएकाे हाे ।

यस्तै, नयाँ कानुनमा कुनै पनि श्रमिकलाई रोजगारदाताले जबर्जस्ती काममा लगाउन पाउने छैनन् । यसैगरी कुनै पनि सहकर्मी वा श्रमिकलाई यौन दुर्व्यवहार गर्ने, जिस्क्याउने, शारीरिक तथा मानसिक हिंसा गर्ने, व्यक्तिगत लान्छना लगाउने तथा विदेशी कामदार भनेर विभेद गर्न नपाइने विषय नयाँ कानुनमा समेटिएका छन् । साथै, कुनै पनि जात, वर्ण, रंग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा भेदभाव गर्न पनि पाइने छैन ।

रोजगारदाता कम्पनीसँँगै सम्बन्धित व्यक्तिले यी नियम उल्लंघन गरे तत्काल जरिवानासहित जेल सजायसमेत हुने नयाँ कानुनमा व्यवस्था छ । यूएईले नयाँ कानुनअनुसार पाँच वर्षे मल्टिपल भिसा दिने भएको छ । रोजगारदाता र श्रमिकबीच हुने करार तीन वर्षको हुन्छ । त्यसलाई सोही अवधि बराबर र कम समयका लागि नवीकरण गर्न सक्ने व्यवस्था नयाँ कानुनमा छ ।

यूएईको नयाँ श्रम कानुनले करिब १ लाख नेपाली श्रमिकलगायत करिब ३० लाखभन्दा बढी विदेशी श्रमिक लाभान्वित हुनेछन् ।नेपाली कामदारको खर्च बचत हुने र यूएईकाे रोजगारी अझ व्यवस्थित हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम बताए । ‘यूएईसँग भएको श्रम सम्झौताकै आधारमा नयाँ कानुन आएको छ । यो नेपाली कामदारका हकमा राम्रो हो । अब म्यानपावरले सोहीअनुसार कामदार पठाउनुपर्छ,’ उनले भने ।