ओलीलाई खुसी पारेर एमालेमा पद हत्याउनेको चलखेल नै चर्को, सचिव ताक्नेको यसरी लाग्यो लर्को

  • प्रकाशित मिति : २०७८ मंसिर ७, मंगलवार
  • chhanbin.com

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्ने तयारी भइरहँदा नेताहरु धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। सार्वजनिक रुपमा अध्यक्षका प्रत्यासी भीम रावलले मात्रै घोषणा गरे पनि आन्तरिक रुपमा आकांक्षा प्रस्तुत गर्ने होडबाजी भने केही दिनदेखि चलिरहेको छ।

प्रतिस्पर्धा हुँदा सबैभन्दा चर्को सचिवमा हुने देखिएको छ भने उपमहासचिवमा आकांक्षा राख्ने हालसम्म तीनजना नेता मात्रै छन्। नवौं महाधिवेशनबाट सचिवमा सबैभन्दा धेरै मत ल्याएर विजयी बनेका गोकर्ण विष्ट उपमहासचिवका मुख्य दाबेदार हुन्। एमाले अन्तरसंघर्षका समयमा सहमतिको पहलका लागि उनले मध्यमार्गी भूमिका खेलेका थिए। पार्टी विभाजनको विपक्षमा भन्दै सचिव योगेश भट्टराईपछि माधव नेपाल गुट छाडेर ‘एमाले’मा सक्रिय हुने उनी नै हुन्। त्यसैले यसपल्ट सर्वसम्मत गर्दा विष्टलाई विशेष अवसर प्राप्त हुने आकलन गरिएको छ।

प्रतिनिधि सभामा विष्टकै जिल्ला गुल्मीबाट प्रतिनिधित्व गर्ने एमालेकै अर्का सचिव प्रदीप ज्ञवालीले पनि उपमहासचिवमा बढुवा हुने आकांक्षा दर्शाएका छन्। सचिवमा नदोहोरिने संकेत गर्दै उनले एक तहमाथि उक्लिने संकेत गरेका छन्। बौद्धिक नेताको छबि बनाएका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ज्ञवालीलाई उक्त पदका लागि बलिया दाबेदारका रुपमा हेरिएको छ।

पार्टीका विभिन्न गुटलाई समायोजन मात्रै होइन, समावेशीकरणलाई पनि उत्तिकै महत्व दिनुपर्ने महिला नेताहरुको माग छ। यसपल्ट सर्वसहमति हुने अवस्था निर्माण नहुँदा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छिन् बिन्दा पाण्डेले। नवौं महाधिवेशनमा खुला सदस्यमा निर्वाचित उनी यसपल्ट उपमहासचिव दाबी गर्दैछिन्। अध्यक्षदेखि महासचिवसम्म पुरुषहरु हाबी हुँदा उनको आकांक्षाले उपमहासचिव महिलालाई दिनुपर्ने नैतिक दबाब सिर्जना गर्नेछ।

उपमहासचिव विष्णु पौडेलले त्यही पदमा दोहोरिने अवस्था आइलाग्दा वा नवौं महाधिवेशनमा यही पदमा पराजित शंकर पोखरेललाई ‘सेटल’ गर्नुपर्ने परिस्थिति निर्माण हुँदा भने माथि उल्लेखित तीनै जनालाई सचिवमा चित्त बुझाउनुपर्ने हुनसक्छ।

खुलेर आफ्नो उम्मेदवारी घोषणा गर्ने माहोल एमालेमा छैन। किनभने सर्वसम्मत नेतृत्व छनोटमा त्यसले व्यवधान खडा गर्ने डर एमालेजनमा छ। यति हुँदाहुँदै पनि सचिवको आकांक्षासहित आन्तरिक रुपमा तयारी गरिरहेका नेताहरुको सूची लामो बन्दैछ।

सर्वसम्मत बनाउँदा अध्यक्ष ओलीलाई सबैभन्दा सकस सचिव छनोटमा देखिन्छ। पदाधिकारीमा ७ जना सचिव निर्वाचित हुने वैधानिक व्यवस्था छ। त्यसैले उक्त पदमा आकांक्षा गर्नेको पनि ओइरो लाग्न थालेको छ। युवा नेताहरुले आफू पदाधिकारीमा उक्लिने पहिलो सिँढी त्यही पदलाई बनाउन चाहन्छन् भने केन्द्रीय सदस्य दोहोरीसकेकाहरुले यसपल्ट सचिवमा बढुवा हुने लक्ष्य लिएका छन्। केही पुरानै नेताहरुले सचिवमा दोहोर्‍याउने रुचि देखाएका छन्।

दोहोर्‍याउने रुचि देखाउनेको पहिलो नम्बर सचिव योगेश भट्टराई पर्छन्। सर्वसम्मति गर्ने वातावरणका लागि साविककै पदमा रहेर राजनीतिमा सक्रिय हुने उनले बताइसकेका छन्। यसैगरी अर्का सचिव भीम आचार्यले पनि दोहोर्‍याउनु नै सहज ठहर्‍याएको बुझिएको छ। सहमतिमै नेतृत्व टुंगाउनु परे अध्यक्ष ओलीले सचिवद्वय विष्ट र ज्ञवालीलाई पनि यहीँ थन्काउन सक्छन्।

युवा नेता महेश बस्नेतले आफू सचिव बन्नुपर्ने कारण समेत दर्शाएर घोषणा गरेका छन्। ओलीका प्रिय समेत रहेका उनी बलिया उम्मेदवार हुन्। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व हुनेगरी उक्त प्रदेशका अध्यक्ष कर्ण थापाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्। यसैगरी, ओलीकै निकटस्थहरु भानुभक्त ढकाल, खगराज अधिकारी र गोकुल बाँस्कोटा पनि सचिवमा दाबी गर्ने तयारी गरिरहेका छन्।

हाल कार्यालय सचिव रहेर पार्टीलाई योगदान गरिरहेका शेरबहादुर तामाङ पनि सचिवका बलिया उम्मेदवार हुन्। सचिव सातजना भएकाले त्यहाँ समावेशी नेतृत्व हुनुपर्ने दाबी एमालेभित्र छ। त्यसैले उनी आदिवासी जनजातिको प्रतिनिधित्व पनि गर्नेछन्। अन्तरसंघर्षकै बेला माधव नेपाल त्यागेर अध्यक्ष ओलीका विश्वास पात्र बनेका उनी सचिवमा अटाउने सम्भावना बलियो देखिन्छ।

समावेशीकरणलाई लिएर संवेदनशील पनि हुनुपर्नेछ। क्षमतावान महिला नेतृत्वलाई पदाधिकारीमा ल्याउने सबैभन्दा सहज पद सचिव हुनेछ। त्यसैले दुईजनासम्म महिला नेताहरुले उक्त पदमा अवसर पाउने चर्चा चलिरहेको छ। सचिवमा दाबी गर्नेमा अहिलेसम्म पद्मा अर्याल र शिवमाया तुङ्बाहाम्फे रहेका छन्।

खुला प्रतिष्पर्धा गर्ने अवस्था समेत उक्त पदमा मनोनय दर्ता गर्ने तयारी गरिरहेका उनीहरू बलिया उम्मेदवार हुन्। अर्याल जिल्ला अध्यक्षमा लडेर नेतृत्व हत्याउने एमालेकी एक मात्र महिला नेता हुन्। प्रतिनिधि सभाको निर्वाचनमा बहालवाला मन्त्रीलाई जितेकी उनले मन्त्रीका रुपमा पनि आफूलाई सावित गरेकी छिन्।

त्यसैगरी, शिवमाया तुङ्बाहाम्फे उपसभामुख, कानुनमन्त्री, भूमिमन्त्री भइसकेकी छिन्। सभामुखकै दाबीमा बलियोसँग अडिएकी उनी एमालेको सचिवबाट पछि हट्ने सम्भावना देखिँदैन।

यस्तै, माओवादी केन्द्रबाट आएका नेताहरूलाई पनि समायोजन गर्नुपर्ने बाध्यता छ। कम्तीमा तीन जना पदाधिकारीमा चयन गर्ने तयारी रहेको बुझिएको छ। रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष पक्का जस्तै छ। बाँकी दुई जना लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई सचिवमा समायोजन गर्नुपर्ने हुन्छ। यद्यपि, भट्टले उपाध्यको आकांक्षा गरेका छन्। रायमाझी भने सचिवमै बस्न तयार छन्।