‘ए र माले’ बाट कसरी ‘र’ कसले र हटाएर बनायो एमाले ? यस्तो छ कहानी

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

गएको चुनावमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले १०औँ महाधिवेशनको संघारमा छ । १० देखि १३ मंसिरमा चितवनमा एमालेले महाधिवेशन गर्दैछ । सबैभन्दा ठूलो कम्युनिस्ट दलको नाम सुरुमा एमाले होइन ‘ए र माले’ थियो ।

झापा आन्दोलनको जगबाट हुर्किएको नेकपा (माले) र अर्को कम्युनिस्ट पार्टी नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर बनेको नयाँ पार्टीको नाम एकीकरणताका नेकपा एमाले थिएन । ए र माले थियो । सिद्धिलाल सिंहको ललितपुर बंगलामुखीस्थित नयाँ घरमा पार्टीको नाम जुराइएको थियो ।

तर, बोलिचालीमा नभिजेपछि बीचको र हटेर एमाले बनेको पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले आफ्नो पुस्तक नलेखिएको इतिहासमा लेखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कसैको विमति नरहे पनि त्यसपछिको नाम जुराउन भने समय लागेको उनले किताबमा उल्लेख गरेका छन् । मार्क्सवादीकी नेता सहाना प्रधानको आग्रहमा आफूले ‘एकीकृत मार्क्सवादी लेलिनवादी’ नाम प्रस्ताव गरेको दाबी पनि मैनालीको छ ।

आफ्नो प्रस्तावमा प्रधानले बीचमा र थप्नुपर्ने राय दिएपछि नेकपा ‘ए र माले’ नाम जुराइएको थियो । केही समय नेकपा ‘ए र माले’ नै लेखियो । तर उच्चारण गर्दा दैनिक बोलिचालीमा झन्झट भएपछि ‘र’ स्वतः हटेको मैनालीले बताएका छन् ।

औपचारिक रूपमा भने र हटाइएको निर्णय भएको छैन । मैनालीले पुस्तकमा लेखेअनुसार बीचमा झुण्डिएको र हटाउन नेताहरू प्रदीप नेपाल, नारायण ढकाल, श्यामलको ठूलो हात छ । त्यसबेला प्रेसतिर उनीहरूकै बोलवाला भएकाले र ‘हटाएर दिन्थे ।