अष्ट्रेलियामा भाँडा माझ्नेलाई अब घण्टाको ९० डलर दिईने

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

अष्ट्रेलियाको सिड्नीमा कामदार अभाव हुन थालेपछि रेष्टुरेन्टमा भाँडा माझ्नेले प्रतिघण्टा ९० डलर कमाइ गर्न थालेका छन्। त्यहाँका सञ्चारमाध्यमले जनाएअनुसार सिड्नीको हस्पिटालिटी क्षेत्रमा कामदारको अभाव भएपछि अधिकांश व्यवसायीले आफ्नो व्यवसाय खुल्ने समयलाई कटौती गरेका छन् ।

जसकारण त्यहाँका शीर्ष रेष्टुरेण्टहरूमा यतिबेला भएका कामदारले घण्टाकै ९० अष्ट्रेलियन डलर अर्थात नेपाली ७ हजार ७ सय रुपैयाँ कमाइ गर्न थालेका हुन् ।

यो त भयो भाँडा माझ्नेहरूको कमाई । रेष्टुरेण्टमा सेफको रूपमा काम गर्नेहरूले प्रतिघण्टा १३ डलर कमाई गरिरहेका छन्। रेष्टुरेन्टमा आवश्यक सेफको पनि कमी हुन थालेपछि त्यहाँ भएका सेफहरू सामान्य अवस्थाभन्दा लामो समयसम्म काम गर्न थालेका छन्।

केही समयअघिमात्रै कामदार अभावको विषयमा त्यहाँका उद्योग र सरकारी पदाधिकारीहरूले एक अध्ययन गरेका थिए। जसमा ९१ प्रतिशतले अष्ट्रेलियाका रेष्टुरेण्टहरू विदेशी सेफकै भर पर्नुपरेको निष्कर्ष निकालेका थिए । त्यस्तै ५९ प्रतिशतले त्यहाँ आफ्नै मौलिक सेफको कमी भएको जनाए।

उक्त सर्वेक्षणले जनाएअनुसार अष्ट्रेलियाको हस्पिटालिटी क्षेत्रमा कोरोना महामारीका कारण दुई तिहाइ व्यवसायमा स्थानीय सेफहरूले काम छोडेका छन्। त्यस्तैगरि अष्ट्रेलियाका रेष्टुरेन्ट व्यवसायीले महामारीकै कारण ६८ प्रतिशत अन्तर्राष्ट्रिय सेफ गुमाउनुपरेको सर्वेक्षणले जनाएको छ ।