दंगा प्रहरी हटाएपनि बारको आन्दोलन जारी, देउवाको बिरोधमा कांग्रेस मुख्यालयमा चल्यो नाराबाजी

  • प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार
  • chhanbin.com

अत्याधुनिक हतियारसहित सर्वाेच्च अदालत परिसरमा सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएपछि दंगा प्रहरी हटाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै जारी आन्दोलनबाट दंगा प्रहरी सोमबारबाट हटाइएको हो। नेपाल बार एसोसिएसनले दंगा प्रहरी खटाइएकोबारे विरोध गरेको थियो। उनीहरुले प्रहरीविरुद्धसमेत नारा गरे।

कानुन व्यवसायीहरू सोमबार पनि साविकझैं कालो ब्यानरसहित धर्ना दिइरहेका छन्। बारको आन्दोलन दबाउने हेतुले परिचालन गरिएको दंगा प्रहरी परिसरबाटै हटाइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

उता, ललितपुरको सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा कार्यकर्ताले मुर्दावादको नारा लगाएका छन्। आज विहान कांग्रेसकै कार्यकर्ताले ‘अवैधानिक अधिवेशन खारेज गर’, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’लगायतका नारा लगाएका हुन्।

नारालगाउनेहरुमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका जिल्लाका सभापति कर्ण मल्ललगायत छन्। देउवाको गृहजिल्ला डडेल्धुरामा पुनः अधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालय हातामा अनसन बसेकाहरुले सानेपामा आन्दोलन गरे। उनीहरु केही दिनदेखि रिले अनशनसमेत बसिरहेका छन्। उनीहरुले नेपाली कांग्रेस जिन्दावाद’को नारा लगाएपनि निर्वाचन समितिको विरोध गरेका हुन्।