नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको संघारमा नेताहरू पदाधिकारीमा आकांक्षा जाहेर गरिरहेका छन् । १५ सदस्यीय केन्द्रीय पदाधिकारीका लागि आकांक्षा जनाउने नेताहरूको संख्या ठूलो छ । अध्यक्षमा केपी ओली नै दोहोरिने पक्का रहेकाले अन्य नेताहरूले पनि आफ्नो स्थानको सुनिश्चितता खोजेका छन् तर एमालेमा पदाधिकारीका आकांक्षी नेताहरूको सूची लामो छ ।
अध्यक्षबाहेक अरु १४ पदमा कोको पर्छन अहिले नै भन्न सकिने अवस्था छैन । एमाले महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव चयन गर्नेछ । तर अध्यक्ष बाहेक अन्य पदाधिकारीमा आवश्यक संख्या भन्दा आकांक्षीहरूको संख्या झण्डै दोब्बर छ ।
एमाले नेतृत्वलाई पार्टीमा रहेका तीन धारका नेताको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । पूर्वमाओवादी नेताहरू, एमालेमै रहेर अध्यक्ष ओलीलाई साथ दिएका नेताहरू तथा पार्टी एकताको पक्षमा रहेको भनिएको १० बुँदे सम्झौता पक्षधर नेताहरूको व्यवस्थापन गर्नैपर्ने चुनौती पार्टी नेतृत्वलाई छ ।
महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीमा तीनधारकै नेताको कसरी चित्त बुझाइन्छ भन्ने विषयमा कार्यकर्तामाझ कौतूहलता छ । अझ पार्टीका शीर्ष नेताहरूले दशौं महाधिवेशनलाई ‘सहमतिको महाधिवेशन’ बनाइने बताइरहँदा कसरी सहमति जुटाइन्छ भन्ने पनि कार्यकर्ताहरूको प्रश्न छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवाली पार्टीभित्र तीन धारकै नेताहरूको उचित व्यवस्थापन गरिने र पार्टीमा धारलाई विस्थापन गरिने ठोकुवा गर्छन् । ‘पार्टीका तीन धारकै तीन खाले मनोविज्ञानको पनि एकता गराइन्छ, सबैको व्यवस्थापन हुन्छ । त्रिशुली र सेती मिसिएझैं रङ नछुट्टिने गरी मिसिन्छौं,’ ज्ञवालीले भने ।
पार्टीमा सबैलाई ‘रङ नछुट्टिने’ गरी एक गराइने बताइरहँदा नेताहरूको उचित व्यवस्थापनमा हम्मेहम्मे पर्ने देखिन्छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा हालका महासचिव ईश्वर पोखरेलसँगै सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ पनि आकांक्षी छन् ।
अहिले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य पनि पाए वरिष्ठ उपाध्यक्ष नभए उपाध्यक्षमै दोहोरिन चाहन्छिन् । हालका उपाध्यक्ष युवराज ज्ञवालीदेखि माओवादीबाट आएका टोपबहादुर रायमाझी लगायत नेताहरूको दाउ उपाध्यक्षमा छ । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङले आकांक्षा देखाएका छन् । उपमहासचिवमा हालका सचिवहरू योगेश भट्टराई, प्रदीप ज्ञवाली, भीम आचार्य लगायतका नेता इच्छुक भएको बताइन्छ । ७ सचिवमा किरण गुरुङ, पद्मा अर्याल, लेखराज भट्ट, लालबाबु पण्डित, खगराज अधिकारी, विन्दा पाण्डे सहित नेताहरूको लाम लामो छ ।
पदाधिकारी संख्या थोरै र आकांक्षा धेरै भएपछि पदाधिकारी थपिने चर्चा अहिले पार्टीमा छ । कार्यकर्ताहरू थपिने संख्याको पनि अड्कल काटिरहेका छन् । पार्टी नेता र कार्यकर्तामाझ उपाध्यक्ष र उप–महासचिवको संख्या थपिने चर्चा छ ।
एमालेकै शीर्ष नेताहरूले पनि ओलीलाई पदाधिकारी संख्या थप्न सुझाव दिएको उनी निकट नेता बताउँछन् । तर अध्यक्ष ओली अहिले पदाधिकारी थप्नेप्रति सकारात्मक नरहेको बताइन्छ । पदाधिकारी थप्न विधान नै संशोधन गर्नुपर्ने भएकाले ओलीले पदाधिकारी संख्या थप्न नचाहेको उनी निकट नेताले बताए । ‘विधान अधिवेशन असफल प्रमाणित गर्ने गरी अहिले संशोधन गर्न नहुने उहाँको कुरा छ,’ ती नेताले भने ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि अहिले पदाधिकारी संख्या थपिने सम्भावना नरहेको बताउँछन् । विधान संशोधन गर्ने अधिकार राष्ट्रिय महाधिवेशनलाई भएपनि पदाधिकारी थप्न विधान संशोधन नगरिने ज्ञवालीले बताए । ‘विधान संशोधन हुने सम्भावना छैन । योग्यहरूको पंक्ति ठूलो छ, पदाधिकारी संख्या दोब्बर नै बनाएपनि सबैलाई समेट्न गाह्रो छ,’ ज्ञवालीले भने, ‘सबै खाले मनोविज्ञानको व्यवस्थापन हुने गरी १५ जना भित्र नै नेताहरूको व्यवस्थापन हुन्छ ।’