प्रधानन्यायाधीशले टेरपुच्छर नलाएपछि रन्थनिए वकिल, गृहमन्त्रीको राजीनामा माग्दै गरे असुरक्षित ‘फील’

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

न्यायिक शुद्धीकारणका लागि गरेको शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले प्रहरी खटाएको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरुले धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन्।

उनीहरुले चर्को नाराबाजी गर्दै भ्रष्टाचारी न्यायाधीश र गृहमन्त्री खाँडले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गरे। नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्री खाँडले प्रहरी खटाएर आन्दोलन विथोल्न खोजेको आरोप लगाए। उनले भने,’ न्यायिक शुद्धीकरणको लडाइँमा प्रहरी खटाइनु खेदजनक छ। भ्रष्टाचारी न्यायाधीश जबरा र गृहमन्त्री खाँडले राजीनमा दिनैपर्छ।’

उनले न्यायालय बिचौलियाको कब्जामा रहेको बताए। उनले भने,’ न्यायालय बिचौलियाको कब्जामा छ। बल प्रयोग मान्य छैन । यदि प्रहरी गेट बाहिर गएनन् भने यो आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ। बारले सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन समेत माग गरेको छ। यसअघि बारले पटक-पटक सर्वोच्च परिसरबाट प्रहरी हटाउन गृहमन्त्राललाई खबर गरेको थियो।

धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच प्रत्येक दिनजसो घम्साघम्सी हुँदै आएको छ। केही दिनअघि धर्नमा बसेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना कानुन व्यवसायीहरु घाइते भएका थिए। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले बताएको छ। बारले आजदेखि विरोधका नयाँ कार्यक्रम घोषणा गरी आन्दोलित छ।