प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि ११ वटा इजलास तोकेका छन्। उनले १० वटा संयुक्त इजलास र एउटा एकल इजलास तोकेका हुन्।
बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरु नियमित सुनुवाइमा फर्किएका छन्। तर आइतबार गोलाप्रथाबाट पेसी भने तोकिएन।
गोलाप्रथाबाट पेसी तोक्नका लागि सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरिएको छ। यो कार्यान्वयन हुन नियमावली र निर्देशिका संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुनुपर्छ। राजपत्रमा सूचना प्रकाशित नभएकाले आइतबार गोलाप्रथा लागू नगरिएको जनाइएको छ।
आइतबार राजपत्रमा सूचना प्रकाशन भए सोमबारदेखि गोलाप्रथाबाट पेसी तोकिने जनाइएको छ।