‘अनि फेरि म यौन व्यवसायमै फर्किएँ’

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

नेपालमा पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू आफ्नो पहिचान खुलाउन थालेका छन् । सन् २००० देखि अधिकारका लागि लड्दै आएका उनीहरूलाई राज्यले कानुनमा व्यवस्था गरेर अधिकार दियो । तर, व्यवहारमा भने अझै कार्यान्वयनमा आउन सकिरहेको छैन । जसले गर्दा उनीहरू अन्य नागरिक सरह जीवनयापन गर्न सकिरहेका छैनन् । एकातिर समाजले हेर्ने दृष्टिकोण राम्रो छैन भने अर्कोतिर राज्यको नीतिले पनि उनीहरुलाई अझै पनि असहज बनाइरहेको छ ।

उनीहरूले अंगाल्दै आएको यौन व्यवसाय त्यागेर अन्य पेशातिर पनि लागिरहेका छन् । तर, उनीहरूलाई नयाँ पेशामा टिकिराख्न सहज छैन । जसको उदाहरण हुन्, ४० वर्षीया एक तेस्रो लिंगी महिला । जो छोराको रूपमा जन्मिएकी थिइन् । तर उनको चाहना तथा रूची भने केटीको जस्तो थियो । आफू को हु भन्ने थाहा पाएपछि उनले सन् २०११ मा भारतमा गएर लिंग परिवर्तन गरेर आइन् ।

समाजको सोच परिवर्तन नै गराउनुपर्छ भन्ने सोचका साथ उनी यौन व्यवसायबाट मेकअप आर्टिष्ट समेत बनिन् । तर, बाध्यताले पुरानै पेशामा फर्किनुपर्यो । उनी कसरी फेरि सेक्स वर्कर नै बन्न बाध्य भइन् । उनले हामीसँग यसरी आफ्नो व्यथा पोखेकी छन् :

बाल्यकाल कति मज्जाको हुन्छ । चन्चले स्वभाव, चकचक गरिराख्ने, पढ्न भन्दा खेल्न र घुम्नतिर ध्यान दिने बालबालिकाका गुण हुन् । यहि भएर त हो बाल्यकालको अर्कै आनन्द हुने । तर, मैले बाल्यकालको अनुभव नै लिन पाइनँ । सानै उमेरमा मेरो ठूलो मम्मीको छोराले मलाई काम गराउन भारत लगिदियो ।

भारत गएपछि मैले बाल्यकालका सबै अवसर गुमाए । छोराको रूपमा जन्मिएकी म भारतमा गएर निकै दुःख पाए । त्यहाँ लगेर मलाई ड्राइभिङ सिक्न भने । यदि म छोराको रूपमा जन्मिएर छोराकै चाहना, इच्छा आकाक्षा भएको भए सायद म ड्राइभिङ सिक्थे होला । तर, मेरो त सबै चाहना तथा इच्छा आकांक्षा सबै छोरी मान्छेको जस्तो हुन्थ्यो । मैले ड्राइभिङ सिकिनँ ।

मेरो दाजुको साहुले आफ्नो घरमा लगेर काम गरायो । धेरै काममा पेलाउँथ्यो । त्यो घरमा बस्दा साह्रै दुःख पाए । अति नै दुःख भएपछि म त्यहाँबाट छोडेर काठमाडौं फर्किए । काठमाडौं आएर पनि रेष्टुरेन्टमा काम गर्न थाले ।

रेष्टुरेन्टमा काम गर्ने क्रममा केही साथीहरूले रत्नपार्कतिर जाने निर्णय गरे । म पनि उनीहरूसँगै रत्नपार्कतिर लागेँ । त्यहाँ तेस्रो लिंगीहरू हुन्छन्, तिनिहरूलाई हेर्न जाउँ भन्दा मलाई त्यतिबेलासम्म तेस्रो लिंगी कस्तो हुन्छन् भन्ने पनि थाहा थिएन ।

साथीहरू त केटा नै भएकाले उनीहरूलाई जिस्काउथे । म भने एक कुनामा उभिएर हेरिरहन्थ्ये । त्यही बेला ‘म पनि यस्तै हो कि क्या हो’ भन्ने लाग्यो । त्यसपछि म एकदिन हैन नियमित रत्नपार्कतिर जान थाले । हरेक दिन रेष्टुरेन्टको काम सकाएर एक घण्टा जति रत्नपार्कतिर मेरो समय बित्थ्यो ।

पछिपछि बिस्तारै उनीहरूसँग बोल्न थाले । यति भएपछि मेरो साथीहरूले मलाई पनि उनीहरू जस्तै हो कि क्या हो भन्न थाले । आफ्नै साथीहरूले घृणा गर्न थालेपछि रेष्टुरेन्टको काम पनि छोडिदिए ।

नियमित उनीहरूसँगै हुन थालेपछि एकदिन एक जना साथीसँग कुराकानी भयो । त्यहीबाट आफू पनि तेस्रो लिंगी भएको थाहा पाएपछि मेरो जीवनको उद्देश्य नै परिवर्तन भयो । मेरो एक जना गुरू हुनुहुन्थ्यो । उहाँले भारतमा गएर आफ्नो लिंग परिवर्तन गराएर आउनुभएको थियो । त्यसपछि मलाई पनि झन उत्सुकता जागेर आयो । पछि ‘म पनि उहाँ जस्तै बन्न पाए कस्तो राम्रो हुन्थ्यो होला’ भन्ने लाग्यो ।

सन् २०११ मा भारत गएर मैले पनि आफ्नो लिंग परिवर्तन गरे । छोराको रूपमा जन्मिएको म लिंग परिवर्तन गराएपछि त तेस्रो लिंगी भइहाले । मैले त्यसअघि नै पुरूषको नाममा नागरिकता लिइसकेको थिए । आफ्नो पहिचान नै परिवर्तन भइसकेपछि मैले आफ्नो नागरिकता पनि परिवर्तन गर्नुप¥यो भन्ने लाग्यो । त्यो बेला नागरिकता महिला र पुरूषको नाममा मात्र बन्थ्यो ।
पछि तेस्रो लिंगीले पनि नागरिकता पाउने कानुन बन्यो । म निकै खुशी भए । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा गए । तर, त्यहाँ प्रशानका कर्मचारीले ‘लिंग परिवर्तन गराएको प्रमाणपत्र लिएर आउनू’ भनेर पठाइदिए । मैले त भारतमा गएर लिंग परिवर्तन गराएकी थिए । अब मैले त्यसको प्रमाणपत्र कसरी ल्याउने ?

लिंग परिवर्तन गराउन भारतमा पनि त्यो बेला गैरकानुनी थियो । लुकिछिपि गरिन्थ्यो । जसले गर्दा पनि प्रमाणपत्र लिने कुरै भएन । तैपनि पाउँछु कि भनेर पछि गए । तर, मेरो लिंग परिवर्तन गराउने डाक्टरको मृत्यु भइसकेको रहेछ । जसले गर्दा मैले नागरिकता नै पाउन सकिनँ । अहिलेसम्म पनि मेरो नागरिकता बनेको छैन ।

कोरोना महामारीको समयमा पनि निकै समस्या भयो । स्थानीय तहले त्यो बेला राहत दिन लागेको थियो । त्यही भएर हतार हतारमा आफू बस्ने वडा कार्यालयमा गएर राहत लिन खोजे । तर, मलाई दिइएन । ‘तपाईंहरूलाई त ब्लु डायमण्ड सोसाइटीले राहत वितरण गरिराखेको छ, त्यहीबाट लिनुहोस्’ भनियो । त्यो बेला ‘म यो देशको नागरिक रहेनछु कि’ जस्तो लाग्यो ।

कतिपयको धारणा तेस्रो लिंगीहरू सेक्स वर्कर मात्र हुन भन्ने छ । तर, सेक्सवर्कर बन्नु हाम्रो रहर होइन् बाध्यता हो । सेक्स वर्करको काम गरिरहँँदा मैले मेकअप आर्टिस्टको काम पनि सिकेँ । काम सिकेपछि अब यो पेशा छोडिदिन्छु भन्ने लागेको थियो । तर, दुर्भाग्यबस फेरि यही पेशामा फर्किन पुगे ।

काम सिकेर एक वर्ष काम पनि गरे । कति ठाउँमा काम गर्न जाँदा पैसा पनि पाइनँ । कतिपय मोडलहरूको पनि मेकअप गरिदिए । उनीहरूलाई सबै सामान ब्राण्डेड चाहिन्थ्यो । मलाई पैसा भने तीन हजार देखि तीन हजार पाँच सय दिन्थे । मेकअप गर्दा भने ब्राण्डेड सामान प्रयोग गर्नुप¥यो भन्थे । जबकि एउटै सामान ८ हजार ९ हजारको पथ्र्यो । अनि ३५०० मैले पाएर उनीहरूका लागि ९ हजारको सामान कसरी किन्ने ?

उनीहरूले मलाई दिने तीन हजार, अनि फाउण्डेशन नै ५ हजारको लगाइदिनुपर्ने रे । यो पेशाबाट पनि अपमान मात्रै सहनुप¥यो । न कामको इज्जत मिल्थ्यो न त भनेअनुसार पैसा नै दिन्थे । त्यसपछि यो काम पनि छोडिदिएँ ।

मेकअप आर्टिस्ट बनेपछि सेक्स वर्करको पेशा छोडिदिन्छु भन्ने सोच थियो । तर, फेरि पुरानै पेशामा फर्किन बाध्य भएँ । मसँगै मेकअप आर्टिष्ट सिकेकाहरूले भने राम्रै कमाइ गरिरहेका छन् । तर, म भने तेस्रो लिंगी भएका कारण समाजले नै अपमानित पेशातिर धकेलिदियो ।

हरेक पाइला पाइलामा अपमान सहनुपरेको छ । हामीलाई त मानिस नै हैनन् जस्तो व्यवहार समाजले गर्ने गर्छ । कतिपय तेस्रो लिंगीहरूलाई लिंग परिवर्तन गर्ने चाहना हुन्छ, तर, नेपालमा गैरकानुनी छ । जसले गर्दा भारत, थाइल्याण्ड लगायतका अन्य देशमा जानुपर्ने बाध्यता छ । नेपालमै भइदिएको भए निकै सजिलो हुन्थ्यो ।

लिंग परिवर्तन गरेपछि हड्डीहरू गल्ने समस्या हुन्छ । लिंग परिवर्तन गरेपछि नियमित औषधि (हर्मोन) खानुपर्छ । तर, मैले अहिलेसम्म खाएकी छैन । म अहिले लगभग ४० वर्षकी भए । जति उमेर बढ्दै गयो हड्डी खिइने समस्या हुन्छ । त्यही भएर अहिले निकै डर लागिरहन्छ ।