नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरूप्रति कटाक्ष गर्दै धेरै दिन गठबन्धन नटिक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा कांग्रेसको औँला समाएर हिँड्न पल्केको बताएका हुन् ।
‘पाँच दलीय गठबन्धनका साना दल गठबन्धन गरेर चुनाव लड्छौँ भनिरहेका छन् । तर, कांग्रेसले त्यसो भनेको सुन्या छैन । कांग्रेसको औँला समातेर हिँड्न पल्केकाहरू हिँड्न खोज्छन् । तर, कांग्रेसले कहिलेसम्म औँलो दिन्छ थाहा छैन,’ ओलीले भने ।
एमालेविरुद्ध पाँच दलीय गठबन्धनजस्ता १० वटा दल मिलेर चुनावमा आए पनि केही फरक नपर्ने ओलीको भनाइ छ । ‘पाँच दलीय गठबन्धनजस्ता अरु १० वटा दल मिलेर चुनावमा आए पनि एमालेलाई केही फरक पर्दैन,’उनले भने, ‘उनीहरूलाई एमाले एक्लै काफी छ ।’ अध्यक्ष ओलीले एमाले कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताए । ‘एमाले कसैको बैशाखी टेकेर चुनाव लड्दैन,’उनले भने, ‘एमाले आफैँ चुनाव लड्छ र आफैँ जित्छ ।’
एमालेबाट विभाजित भएकाहरूप्रति टिप्पणी गर्दै उनले पार्टीभित्रको फोहोर मैला सफा भएको बताए । ‘एमालेबाट फोहोर मैलाहरू किनारा लागे । अब एमाले स्वच्छ भएकाले चुनावमा विजय हासिल गरेर राष्ट्रलाई समृद्ध बनाउने अभियानमा अघि बढ्नेछ ।’