ए डिभिजनको संकटा र हिमालयन शेर्पाबिचको खेल बराबरीमा, अब को-को भिड्दैछन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर ४, शनिबार
  • chhanbin.com

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब १-१ गोलको बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गरेका थिए। खेलको ६० औं मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै जारी सिजन ए डिभिजन लिगमै गोल गर्ने पहिलो खेलाडी बने। उनले दिलाएको अग्रता धेरै बेर भने टिक्न सकेन।

गोलकिपर दीप कार्कीले बल राम्ररी होल्ड गर्न नसकेको अवस्थामा हिमालयन शेर्पाका त्रिदेब गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए।

यो सँगै जारी सिजन ए डिभिजन लिगको लगातार दोस्रो खेल बराबरीमा रोकिएको छ। यसअघि उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबले गोलरहित बराबरी खेलेका थिए। आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब आमने सामने हुँदैछन्।