आज देशैभर वडा अधिवेशन गर्दै माओवादी, निर्वाचन हुने वातावरण राेक्न प्रचण्डको उर्दी

  • प्रकाशित मिति : २०७८ मंसिर ४, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुङ्गा सावित हुने मा‌ओवादीले जनाएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा तय गरेको छ ।

सकेसम्म सहमतिमा वडा समिति चयन गर्न र निर्वाचन हुने अवस्था आए पनि मर्यादित हुन पार्टी पङ्क्तिलाई मा‌ओवादी केन्द्रले आग्रह गरेको छ। ‘वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ’ वडा सम्मेलनका सन्दर्भमा माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादीले ११ मङ्सिरमा सबै पालिका र २५ मङ्सिरमा सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन हुने वातावरण राेक्न केन्द्रले निर्देशन समेत दिएको छ।