यी हुन् काठमाडौँमा खुल्न लागेका एक दर्जन होटल, कुनको लगानी कति ?

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

पछिल्लो समय पर्यटन क्षेत्र क्रमशः चलायमान हुन थालेसँगै यस क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ । विश्वभर कोरोना प्रभाव कम हुँदै गएको, अधिकांश देशले खोप लगाइरहेकाले विदेशी पर्यटक आउने क्रम बढेसँगै व्यवसायीहरुले पनि होटल व्यवसायमा थप लगानी गर्न थालेका हुन् ।

एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने भएपछि यस क्षेत्रमा व्यवसायीहरूको आकर्षण बढेको देखिन्छ । नेपालमा पर्यटनको भविष्य राम्रो देखिएकाले पनि यस क्षेत्रमा नयाँ लगानी आउने क्रम बढेको हो । हाल करिब आधा दर्जन तारे होटल निर्माणधीन रहेको काठमाडौं उपत्यकामा थप १ दर्जन पर्यटकीयस्तरका होटल तथा रेष्टुरेण्ट खुल्ने भएका छन् । चालू आर्थिक वर्षको ४ महिनामा काठमाडौं उपत्यकामा संचालन गर्नेगरी १ दर्जन होटल दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार २५ करोड रुपैयाँदेखि ५ अर्बसम्म लगानीका होटल दर्ता भएका छन् । जसमा ९ वटा विदेशी लगानीमा बन्न लागेका छन् भने २ वटा पूर्ण स्वदेशी लगानीमा बन्ने भएका हुन् । त्यस्तै, एउटा विदेशी र स्वदेशी संयुक्त लगानीमा बन्ने भएको हो । यी एकदर्जन होटल कुल साढे ८ अर्ब लगानीमा बन्न लागेका हुन् ।

कति बेड क्षमताका होटल बन्दैछन् ?
सूर्य नेपाल प्रालिले काठमाडौंको बुढानिलकण्ठमा पाँच तारे होटल तथा रेष्टुरेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ लगानीमा उक्त होटल निर्माण गर्न लागेको हो । यस होटल तथा रेष्टुरेन्टले सञ्चालपछि ३०६ जनाले रोजगार पाउनेछन् । उक्त होटलमा १९० बेड र ४६५ सिट भएको रेष्टुरेन्ट हुनेछ ।

काठमाडौंको वडा नम्बर १६ मा होटल उड एप्ल प्रालिले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्यउने भएको छ । १९ करोड रुपैयाँ लगानीमा बन्न लागको यस रेष्टुरेन्टले ३० जनालाई रोजगार दिनेछ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेको यो होटल तथा रेष्टुरेन्टमा ४९ बेड र ८० सिट भएको रेष्टुरेन्ट हुनेछ ।

यसैगरी, २५ करोड वैदेशिक लगानीमा काठमाडौंमा झाङ युपेङ्ग होटल एण्ड रेष्टुरेन्ट बन्ने भएको छ । उद्योग विभागको तथ्यांक अनुसार काठमाडौंमा खुल्ने यस होटलले सञ्चालनपछि ६० जनालाई रोजगार दिनेछ । सो होटलमा ६० बेड र १ सय सिट भएको रेष्टुरेन्ट हुने छ ।

यस्तै, ५० बेड भएको होटल र ५० सिटको रेष्टुरेन्ट क्षमता सहित होङ्ग मेई होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको उक्त होटलको लागत २५ करोड रुपैयाँ रहेको छ ।

यस्तै, काठमाडौंमै ७० बेड र १ सय सिट भएको यू हुईफेङ्ग होटल एण्ड रेष्टुरेन्ट २५ करोड लगानीमा बन्न लागेको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको यो रेष्टुरेन्टले सञ्चालनपछि ५८ जनालाई रोजगार दिनेछ । जुन लि होल एण्ड रेष्टुरेन्ट २५ करोड वैदेशिक लगानीमा बन्ने गरी दर्ता भएको छ । ४० बेड र १२० सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले ५८ जनालाई रोजगार दिनेछ ।

यसैगरी, २५ करोड पूर्ण वैदेशिक लगानीमा होटल जीन निर्माण हुने भएको छ । यस होटलमा २४ बेड र ६० सिटको क्षमताको रेष्टुरेन्ट हुनेछ । रुई हान होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नम्बर २६ मा बन्ने भएको छ । २५ करोड वैदेशिक लगानीमा बन्न लागेको यो होटल ९५ बेड र १८० सिट क्षमताको हुने जनाइएको छ ।

एम.आई होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा १५ मा बन्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा बन्न लागेको यो होटलमा पनि पूर्ण वैदेशिक लगानी रहेको छ । ८० बेड र २ सय सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले सञ्चालनपछि ९७ जनाले रोजगार दिनेछ ।

वानयु होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नं. २६ बन्न लागेको छ । २५ करोड विदेशी लगानीमा बन्न लागेको यो होटल ९५ बेड तथा १५० सिट क्षमता रहेको छ । यस्तै, २५ करोडको विदेशी लगानीमा वीकाई होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ । ९० बेड र १५० सिट क्षमताको यस रेष्टुरेन्ट रेष्टुरेन्ट सञ्चालनपछि १०५ जनालाई रोजगार दिनेछ ।

ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लज काठमाडौंमा १० करोड लगानीमा बन्न लागेको हो । यस होटलमा ३५ बेड र ६० सिटको रेष्टुरेन्ट हुनेछ । यो होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत वैदेशिक र ५० प्रतिशत आन्तरिक लगानीमा बन्न लागेको हो ।