‘मोडल सङ्ग्स नेपाल’ले मोटी प्रतियोगिता गर्दै, कति तौल भएकाले भिड्न पाउँछन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

मोटी युवतीहरूलाई लक्षित गर्दै ‘मोडल सङ्ग्स नेपाल’ले ‘सुपर प्लस साइज मोडल नेपाल’को आयोजना गर्दै आइरहेको छ । यसका तीनवटा संस्करण सकिसकेको छ । यस्तैमा, चौथो संस्करणको रूपमा ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक संस्थाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला गरेको हो ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती तथा महिलाहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान छ ।

आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको बताए ।

२५ मंसिरमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् । प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि एक महिनासम्म र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरूले प्रशिक्षण दिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकले जनाएको छ ।