शिक्षा मन्त्रीले मागे देशभरिका प्रअको कार्यसम्पादन विवरण, बढुवाको प्रस्ताव क्याबिनेटमा

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएका छन् ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क मागेका हुन् ।

दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उनले निर्देशन दिएका हुन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको शिक्षा एकाइका प्रमुखहरुको कार्याशालमा उनले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरुले गरेका कामको विवरण मागेका हुन् ।

“मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ” उनले भने, “विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ । उहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियो । त्यो मलाई दिनुहोस् ।” मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान, कम्प्युटर, प्रयोगशाला अभाव लगायतका समस्या रहेको चर्चा गर्दै शिक्षा एकाइका प्रमुखहरुले प्रधानाध्यापकले गरेको सुधारको विवरण अनिवार्य रुपमा पठाउनैपर्ने भने ।

विद्यालयमा विषयगत शिक्षकले कस्तो र कसरी अध्यापन गरिरहेका छन् भन्ने अभिलेख राख्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई खुशी र रुचीअनुसारका शिक्षकले अध्यापन गराउनुपर्ने औँल्याए ।

“क्षेत्राधिकारभित्रका काम तत्काल थाल्नुहोस्” मन्त्री पौडेलले भने, “ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौँ । हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।”

मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै समिति अथवा अध्यादेशमार्फत त्यो ऐन आउने स्पष्ट पारे । उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको उल्लेख गर्दै सो चाँडै पारित हुनेमा विश्वास व्यक्त गरे ।