गायिका प्रविशाले निर्माणलाई दिईन् मन मुटु, पर्सी गर्दैछन् धुमधामले बिहे

  • प्रकाशित मिति : २०७८ मंसिर ३, शुक्रबार
  • chhanbin.com

गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट (टीकाटालाे) गरेकी छन् । अमेरिका बस्दै आएका झापाका निर्माण सिटौलासँग प्रविशाले ५ मंसिरमा बिहे गर्नेगरी औँठी साटेकी हुन् । बिहेका लागि भनेर निर्माण केही समयअघि नेपाल आएका थिए । उनी झापा चारपानेका हुन् ।

सामाजिक सञ्जालमार्फत नै चिनजान गरेका निर्माण र प्रविशाले परिवारकाे सहमतिमा विवाह गर्न लागेका हुन् । प्रविशा इन्गेजमेन्टका लागि केही दिनअघि नै झापा पुगेकी थिइन् । हिजाे दुवैले औँठी साटेर लगनगाँठाेकाे मितिसमेत टुंगाे लगाएका छन् । पर्सि अर्थात् ५ मंसिरमा प्रविशा र निर्माणले विवाह गर्नेछन् ।

नेपाली चलचित्रका दर्जनौँ गीतमा स्वर दिएकी प्रविशा ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि थप चर्चित भएकी थिइन् । टिकटकमा उनका गीतहरूमा हजाराैँ भिडियाेहरू बनेका छन् ।