आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले आज सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात समेत गरेको छ । प्रहरीले हातपात गर्दा एक जना कानुन व्यवसायी घाइते समेत भएका छन् । वकिलहरुले अहिले सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल पनि भएको छ भने सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वार तर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा बसेपछि प्रधानन्यायाधीश राणा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका थिए।
राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि बिहीबार प्रयास गरेका थिए। तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन। त्यसक्रममा भएको धकेलाधकेलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे घाइते भएका छन्।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायी राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।