नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसैक्रममा हालसम्म सूचीकृत झन्डै ३ दर्जन लघुवित्तहरुले पनि वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
तुलनात्मक रुपमा अन्य क्षेत्रका कम्पनीको तुलनामा लघुवित्तहरुको सेयर मूल्य महँगो रहेको छ । लघुवित्तहरुको कमाइ पनि तुलानात्मक रुपमै बढी हुने गरेको छ । यस्तै, लघुवित्तहरुले सेयरधनीलाई लाभांश पनि उच्च रुपमा दिने गरेका छन् ।
सेयर बजारमा हट केकमा रुपमा रहेका लघुवित्तहरु लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेका हुन्छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा उच्च नाफा गर्ने र सेयरधनीलाई पनि उच्च प्रतिफल दिने भएर लघुवित्तमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।
चालू आवको पहिलो त्रैमासमा अधिकांश लघुवित्तहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांशको व्यापार, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थमा उल्लेख्य वृद्धि भएको छ ।
लघुवित्तहरुको औसत प्रतिसेयर आम्दानी नै ५० रुपैयाँ हाराहारीमा रहेको छ । हालसम्म विवरण सार्वजनिक गरेका ४ लघुवित्तको प्रतिसेयर आम्दानी १०० रुपैयाँ माथि छ । आरएमडीसी, जीवन विकास, नेशनल माइक्राोफाइनान्स र महिला लघुवित्तको प्रतिसेयर आम्दानी १०० रुपैयाँ माथि छ ।
कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति ?
जीवन विकास लघुवित्त : नेप्सेमा सूचीकृत लघुवित्तमध्ये जीवन विकासको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ११६.११ रुपैयाँ रहेको छ । जीवन विकास सेयर बजारमा दोस्रो धेरै महँगो सेयर मूल्य भएको लघुवित्त समेत हो ।
यस लघुवित्तले पहिलो त्रैमासमा १७ करोड ६० लाख खुद नाफा कमाएको छ । हाल ६० करोड ८४ लाख चुक्त पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब ४९ करोड संचित छ ।
महिला लघुवित्त : महिला लघुवित्त सेयर बजारमा सूचीकृत लघुवित्तमध्ये सबैभन्दा धेरै सेयर मूल्य रहेको महिलाको प्रतिसेयर आम्दानी ११४.७१ रुपैयाँ रहेको छ ।
पहिलो त्रैमासमा लघुवित्तले गत वर्षको तुलनामा खुद नाफा झन्डै तेब्बरले वृद्धि गरेको छ । गत वर्ष आइपीओ जारी गरेको लघुवित्तले असोज मसान्तसम्म २ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिर्ज कोषमा २२ करोड ८९ लाख रुपैयाँ संचित छ ।
नेशनल माइक्रोफाइनान्स : चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार नेशनलको प्रतिसेयर आम्दानी १०६.१८ रुपैयाँ रहेको छ । गत वर्षको पहिलो त्रैमासमो तुलनामा लघुवित्तले नाफा तेब्बरभन्दा धेरैले बढाएर ११ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ ।
हाल ४१ करोड ९० लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ६७ करोड ४४ लाख रुपैयाँ संचित छ ।
आरएमडीसी लघुवित्त : थोक कर्जा मात्र लगानी गर्ने आरएमडीसीको प्रतिसेयर आम्दानी १०१.५० रुपैयाँ रहेको छ । लघुवित्तले असोज मसान्तसम्म २६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा चार गुणाभन्दा धेरै हो । हाल १ अर्ब ३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ संचित छ ।