सिटौलालाई मनाउने शर्तमा शेखरले शशांकको मन जिते, रामचन्द्र बन्ने भए रमिते

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला परिवारबाट नेता शेखर कोइरालालाई सभापतिको उम्मेदवारी बनाउने तयारी भएको छ । सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री डा. शशांक कोइराला शेखरलाई सहयोग गर्न सकारात्मक देखिएका छन् ।

सार्वजनिक रूपमै शशांकले शेखरलाई सभापतिको उम्मेदवारीका निम्ति अरुलाई मनाउनुपर्ने भनिसकेका छन् । सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले शेखरलाई सभापतिको उम्मेदवार मान्न आफू तयार रहेको बरु अरू नेताहरूलाई मनाउनुपर्ने बताए । कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउन आफू बाधक नबन्ने महामन्त्री कोइरालाको भनाइ छ । सर्लाहीमा आयोजित कार्यक्रममा उनले भनेका छन्, ‘म मिलाउने काम गर्छु, जिताउने काम गर्छु । पार्टीको नेतृत्व फर्काउन म बाधक हुन्नँ ।’

उनले शेखर र आफू मिलेर जानुपर्ने कार्यकर्ताको भावनालाई सम्मान गर्दै अघि बढ्ने पनि बताएका छन् । ‘शेखर दाइ पनि लागिरहनुभएको छ । उहाँ र म मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावनालाई म सम्मान गर्छु, कदर गर्छु,’ उनले भनेका छन् । नेता शेखर कोइरालाले महामन्त्री सशांक र आफूबीचको छलफल सकारात्मक हुँदै गएको बताए । ‘हामीबीच सकारात्मक छलफल भइरहेको छ । मलाई सभापतिको उम्मेदवार बनाउन शशांक सकारात्मक नै देखिएका छन् । अब अरुसँग पनि छलफल गर्दै अघि बढ्नुछ,’ उनले भने ।

यो विषयमा नेतृ सुजाता कोइरालासँग पनि संवाद भइसकेको उनले बताए । मंगलबार साँझ शशांक र शेखरले नेतृ कोइरालासँग संवाद गरेका थिए । उनले सकारात्मक संकेत देखाएपछि बुधबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणाको कार्यक्रम पनि तय भएको थियो । दुवै नेता राजधानीबाहिर हुने भएपछि आजको कार्यक्रम अन्तिममा स्थगित भयो । शशांक संखुवासभा गएका छन् भने शेखर विराटनगर गएका छन् । ‘म पनि बाहिर छु अब आएपछि उम्मदेवारीको विषयमा बृहत् छलफल गरेर हामी अघि बढ्नेछौँ,’ उनले भने ।

कोइराला परिवारभित्र साझा उम्मेदवारको टुंगो लागेपछि उनीहरूले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई पनि मनाउने कसरत सुरु गरेका छन् । महामन्त्री शशांकले गत साता सिटौलासँग यस विषयमा परामर्श गरेका थिए । विराटनगरबाट फर्किएपछि आफूले पनि सिटौलासँग संवाद गर्ने शेखरले बताए ।

‘महामन्त्री शशांकले पाँच दिनअघि यस विषयमा सिटौलासँग छलफल गर्नुभएको छ । उहाँ सकारात्मक नै देखिनुभएको छ । अब म फर्किएपछि पनि उहाँसँग संवाद गर्छु,’ उनले भने । १३औँ महाधिवेशनमा सिटौलाकै कारण कांग्रेस सभापतिको निर्वाचन तेस्रो चरणमा प्रवेश गरेको थियो । महामन्त्री शशांकले सिटौलासँग पनि धेरै मानिस रहेकाले उनलाई समूहमा ल्याउने तयारी भइरहेको बताएका छन् । ‘सिटौलाजीसँग पनि धेरै मानिस छन् । उहाँलाई पनि हाम्रै समूहमा ल्याउनुपर्नेछ,’ उनले भनेका छन् । सिटौला विगतदेखि नै कोइराला परिवारनिकट नेता हुन् । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका काम सम्पन्न गराउन उनलाई भूमिका दिएका थिए ।

यता १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सुशील कोइरालाले सिटौलालाई महामन्त्रीमा मनोनीत गरेका थिए । कोइराला परिवारबाट हाल सहयोगको प्रस्ताव आएको सिटौलानिकट नेता प्रदीप पौडेलले बताए । ‘महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई हराउन सहयोग गर्नुपर्ने प्रस्ताव ल्याउनुभएको थियो । त्यसमा नेता सिटौलाले बसेर सल्लाह गरौँला भन्ने जवाफ दिनुभएको छ,’ उनले भने ।

शशांकले आफूले पनि दाबेदारी दिन सक्ने संकेत सिटौलासमक्ष राख्दा उनले महामन्त्रीका रूपमा गरेको कार्यसम्पादनको मूल्यांकन गर्न सुझाएका थिए । ‘तपाईं महामन्त्री पनि भइसक्नुभएको मान्छे । आफ्नो कार्यसम्पादनका विषयमा साथीहरूसँग बुझ्नुस् अनि मात्रै अघि बढ्नुस् । अन्य विषयमा पछि छलफल गर्दै गरौँला,’ सिटौलाको भनाइ उद्धृत गर्दै पौडेलले भने ।

कोइराला परिवारले कसको व्यवस्थापन कसरी गर्ने भन्ने खाका नल्याएकाले सिटौलाले पछि छलफल गर्ने जवाफ दिएका थिए । ‘राजनीति भनेको गिभ एण्ड टेक हो । समूहको व्यवस्थापन कसरी गर्ने भन्ने खाका कोइराला परिवारबाट आएको छैन । यो प्रस्ताव नआएसम्म त सबैले सिंगल-सिंगल दाबेदारी गरिरहनुभएकै छ नि,’ नेता पौडेलले भने ।

सिटौलासँगको आगामी छलफलमा भने सहकार्यका लागि समूह व्यवस्थापनको खाका नै लिएर जाने कोइराला परिवारको तयारी छ । ‘अहिले प्रारम्भिक छलफल मात्रै भएको हो । म विराटनगरबाट फर्किएलगत्तै उहाँसँग छलफल गरेर समूह व्यवस्थापनको खाकाका लागि पनि गृहकार्य गर्छौं,’ शेखरले भने ।