एमालेको महाधिवेशन उद्घाटनमा लाखौको जुलुस निस्किने यी हुन् सात स्थान

  • प्रकाशित मिति : २०७८ मंसिर १, बुधबार
  • chhanbin.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ। विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस निकालदन लागिएको हो।

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी मानिसको सहभागिता रहने एमालेले जनाएको छ। चितवनबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन्। पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, मुग्लिनतर्फबाट आउने सहभागीलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ। उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिनेछ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ। ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिनेछ। भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ।

भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन्। त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिए।

कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ। पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ।

जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ। उनीहरुलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो। एमालेको १०औं महाधिवेशन यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुनेछ। एमालेको १०औँ महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्।

उनीहरु बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल संघसँग तीन हजार पाँच सय जना अट्ने कोठा सम्झौता गरिएको छ। सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको सङ्घले जनाएको छ। प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ।